२०८३ आश्विन १७ गते , शनिबार

कचनकवलद्वारा शिक्षा सेवा आयोग तयारी कक्षा सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १४ गते , आईतबार
कचनकवलद्वारा शिक्षा सेवा आयोग तयारी कक्षा सम्पन्न

बनियानी । कचनकवल गाउँपालिकाले शिक्षक बन्न चाहनेहरुका लागि शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । आयोगको परीक्षा नजिकिइरहेको बेला ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको हो ।

विर्तामोडस्थित नोभा एजुकेशन फाउण्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । कचनकवल–३ पथरियास्थित लक्ष्मीप्रसाद देवकोटा माविमा सञ्चालन गरिएको एक महिना लामो सो कक्षाको आज (शनिबार) एक समारोहका बीच समापन गरिएको छ ।

समापनका अवसरमा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले शिक्षाका लागि आफ्नो ठाउँबाट दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले शिक्षक सेवा कक्षामा लगानी गरेको बताउँदै सिकेको ज्ञानलाई परीक्षामा उपयोग गर्दै सफल बन्न परीक्षार्थीहरुलाई शुभकामना दिए ।

समारोहकी प्रमुख अतिथि गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरादेवी यादवले उचित समयमा गाउँपालिकाले युवाहरुलाई शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गरेको भन्दै गाउँपालिकाको लगानी खेर जान नदिन परीक्षार्थीहरुलाई आग्रह गरिन् ।

नोभा शिक्षक सेवा आयोग संयोजक देवीप्रसाद गौतमले सञ्चालन गरेको समापन समारोहमा नोभा एजुकेशन फाउण्डेशनका व्यवस्थापक प्रकाश पराजुलीले कक्षा सञ्चालनका क्रममा परीक्षाका लागि आवश्यक अधिकतम शैक्षिक सामग्री उपयोग गरिएको भन्दै एक महिनामा शिक्षा र सामान्य ज्ञानसम्बन्धी ५० भन्दा बढी सेसन सञ्चालन गरिएको बताए । उनले कक्षामा अनुभवी प्रशिक्षकहरु सहभागी गराइएको बताए ।

गाउँपालिकाकै आर्थिक सहयोगमा ६० जनालाई लोक सेवा आयोगको कक्षा पनि सञ्चालन भइरहेको पालिकाले जनाएको छ ।

 

 

 

सम्बन्धित समाचार