२०८३ बैशाख ६ गते , आईतबार

आजदेखि काठमाण्डौमा हिन्दी फिल्म प्रदर्शनमा रोक

sajilo news
परिवेश मिडिया
२०८० असार ४ गते , सोमबार
आजदेखि काठमाण्डौमा हिन्दी फिल्म प्रदर्शनमा रोक

बिर्तामोड । काठमाण्डौ महानगरपालिकामा आजदेखि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाण्डौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबार (आज)देखि निषेध गर्ने बताएका हुन् ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन्भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको बताएका हुन् । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उनको भनाइ छ ।

 ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, शाहले भनेका छन् ।

शाहले काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन् ।  उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाण्डौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको शाहले स्पष्ट गरेका छन् । चलचित्रमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई सीतालाई हरण गरेर लगेका रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’

संवाद फेरिने

आदिपुरुषचलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् ।

सामाजिक सञ्जालमा यो फिल्मको संवादको मानिसहरूले सर्वत्र आलोचना गरिरहेका छन् । फिल्मको संवादमा जुन किसिमको भाषा प्रयोग गरिएको छ त्यो ठिक नभएको उनीहरूको भनाइ छ । जनताको असन्तुष्टिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको मनोज मुंतासिरले बताएका छन् ।

सम्बन्धित समाचार