आज जित्नै पर्ने दबाबका साथ नेपाल नेदरल्याण्ड्ससँग खेल्दै
काठमाण्डौ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२ः४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ ।
यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।
आज नेदरल्याण्ड्सलाई पराजित गरेमा नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरणमा जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।
नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसगँ खेल्न बाँकी छ ।
समूह ए मा वेस्टइन्डिज र जिम्बाब्वे २÷२ खेलबाट ४÷४ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरिका पाँचौ स्थानमा रहेका छ ।