२०८३ बैशाख ६ गते , आईतबार

नेपाली खेलाडीको वरीयता खस्कियो

sajilo news
परिवेश मिडिया
२०८० असार २१ गते , विहीबार
नेपाली खेलाडीको वरीयता खस्कियो

काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय वरीयतामा पाँच नेपाली खेलाडीले पूर्ववत् वरीयता गुमाएका छन्। दुई खेलाडीले वरीयतामा सुधार गरेका छन्। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललित राजवंशी र आसिफ शेखले वरीयता गुमाएका हुन्। नेपाली टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र बलर करण केसीले वरीयतामा सुधार गरेका छन्

आइसिसीले जिम्बावेमा चलिरहेको एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वरीयतासँगै रेटिङ प्रदान गरेको हो। पहिलोपटक ग्लोबल छनोटमा पुगेको नेपाल सुपर सिक्ससम्म पुग्न सकेन। आयरल्यान्डसँग दुई विकेटले पराजित हुँदा नेपाल १० टोली सहभागी ग्लोबल छनोटमा आठौँ स्थानमा रह्यो। जिम्बावेमा बलर र ब्याट्सम्यानले स्तरीय प्रदर्शन गर्न नसक्दा नेपालले समूह मा चारमध्ये एक खेलमा जित निकाल्यो। समूह चरणमा नेपालले अमेरिकालाई हराएको थियो भने जिम्बावे, नेदरल्यान्ड र वेस्ट इन्डिजसँग पराजित भयो

सन्दीप र करणको सुधार

ग्लोबल छनोटको पछिल्ला खेलमा सन्दीप लयमा देखिए। उनले बलिङसँगै ब्याटिङमा समेत राम्रो प्रदर्शन गरे। एकदिवसीय क्रिकेटमा छिटो सय विकेट पूरा गरेका उनी जुलाईको बलिङ वरीयतामा २४औँ स्थानमा रहेका छन्। ५६८ रेटिङ पाएका उनले एक स्थान सुधार गरेका हुन्। सन्दीपले ग्लोबल छनोटको ६ खेलमा सात विकेट लिए। उनले चार मेडन ओभर बलिङ गरे

एकदिवसीय विश्वकप ग्लोबल छनोटमा ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेपछि नेपाली खेलाडीको आइसिसी वरीयता खस्कियो

सोमपाल कामी घाइते भएपछि नेपालको ओपनिङ बलिङमा दबाब सामना गरेका करण बलिङ वरीयताको ८५औँ स्थानमा रहे। ४२१ रेटिङ पाएका उनले दुई स्थान सुधार गरेका हुन्। उनले ग्लोबल छनोटमा ६ खेलमा १२ विकेट लिए। छनोटमा सर्वाधिक विकेट लिने सूचीमा उनी आठौँ स्थानमा छन्।  दीपेन्द्र पाँच र शेख चार स्थान तल

अलराउन्डर भूमिका निर्वाह गर्ने दीपेन्द्रले एकदिवसीय वरीयतामा पाँच स्थान गुमाएका छन्। अघिल्लोपटक ५७औँ स्थानमा रहेका उनी यसपटक ६२औँ स्थानमा झरेका छन्। नेपाली खेलाडीमध्ये धेरै स्थान गुमाउनेमा उनी अगाडि छन्। दीपेन्द्रले ४७० रेटिङ पाएका छन्। ग्लोबल छनोटमा उनले ६ खेलमै बलिङ गरी चार विकेट लिए। दीपेन्द्रपछि धेरै स्थान गुमाउने आसिफ शेख हुन्। यसपटक चार स्थान गुमाउँदा उनी ७७औँ स्थानमा रहे। शेखले ४७५ रेटिङ पाएका छन्। यसैगरी, कप्तान रोहितले ब्याटिङमा एक स्थान गुमाएका छन्। ४८० रेटिङ अंक पाएका उनी यसपटक ७३औँ स्थानमा रहे। बलिङ वरीयतामा सोमपाल कामी ४२७ रेटिङका साथ ७८ स्थानमा छन्

उनले दुई स्थान गुमाएका छन्। यसैगरी ललित राजवंशी एकदिवसीय बलिङ वरीयतामा ९८औँ स्थानमा रहे। एक स्थान गुमाएका उनले ३८८ अंक प्राप्त गरे। ललितले छनोट खेलमा तीन खेलमा बलिङ गरी चार विकेट लिएका थिए आसिफले ग्लोबल छनोटको चार खेलमा १०६ रन जोडेका थिए

सम्बन्धित समाचार