पाठेघरको मुखको क्यान्सर गराउने भाइरस विरुद्धको खोप आइपुग्यो
काठमाण्डौ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धका खोप नेपाल भित्रिएको छ । सरकारले खरिद गरेको २० हजार भाइल उक्त खोप मंगलबार काठमाण्डौ आइपुगेको हो । उक्त खोप टेकुस्थित भण्डारमा राखिएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले खोप भित्रिएको र भण्डारण गरिएको महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।
चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको खोप नेपाल आइपुगेको हो । यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँने हुँदा बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु उत्तम हुने जानकारी दिए ।
सरकारले पनि यो खोप ९ देखि १४ वर्ष उमेरका किशोरीलाई लगाउने तयारी गरेको छ। चालु आर्थिक वर्षको बजेटमा नै उल्लेख भएको यो खोप खरिदको विषयमा आर्थिक वर्षक सकिन केही दिन मात्र बाँकी रहँदा भित्रिएको छ। सरकारले खोप कसर लगाउने भन्ने विषयमा केही समयपछि निर्णय गर्ने बताइएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सरोकारवालाहरुसँगको छलफलपछि कहाँ र कहिले देखि खोप लगाउने भन्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
यो खोप नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सले नेपालमा भित्र्याएको हो ।