साउनदेखि गोमेन्द्रमा होटल मेनेजमेन्ट पढाइ हुने
बिर्तामोड । झापाको बिर्तामोडस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलमा यस बर्षबाट कक्षा ११ मा होटल मेनेजमेन्ट पढाइ हुने भएको छ । स्कुलले यहि शैक्षिक सत्रदेखि पढाइ हुने गरी सम्पूर्ण तयारी भएको जनाएको हो ।
होटल मेनेजमेन्टका लागि किचन, बार लगायत संरचना तयार भइसकेको विद्यालय सञ्चालक उत्तम खनालले जानकारी दिए । ‘होटल मेनेजमेन्टको सम्पूर्ण तयारी भइसकेको छ,’ उनले भने,‘यसका लागि कक्षा ११ मा भर्ना आवेदन खुला गरिसकेका छौँ ।’ होटल मेनेजमेन्टसँगै एड्भान्स डिप्लोमा इन होटल मेनेजमेन्ट (एडीएचएम) र डुवाल कोर्सपनि पढाइ हुने उनले बताए । होटल मेनेजमेन्टको संरचना निर्माण र सामाग्री खरिदमा २० लाख बढी खर्च भएको उनको भनाई छ ।
होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीले एकै पटक एडीएचएमको कक्षा लिन सक्नेछन् । यो १५ महिनाको कोर्ष हुने र अमेरिकाको अमेरिकन हस्पिटालिटी एकेडेमीबाट सम्बन्धन लिइएको होटल मेनेजमेन्ट इञ्चार्ज रबिन पाठकले जानकारी दिए । एडीएचएमको मात्र कक्षा लिन चाहनेहरुका लागि भने प्लस टु सकेको हुनुपर्ने उनको भनाई छ ।
होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुका लागि भर्ना शुल्क १० हजार र बार्षिक अध्ययन शुल्क ७० हजार तोकिएको पाठकले जानकारी दिए । ‘भर्ना शुल्क र अध्ययन शुल्क गरेर ११ र १२ मा जम्मा एक लाख ५० हजार शुल्क तोकिएको छ,’ उनले भने ।
यता एडीएचएमको लागि २ लाख ५० हजार शुल्क तोकिएको विद्यालय सञ्चालक खनालले जानकारी दिए । तर, एडीएचएम र एचएम (डुवाल) कोर्ष गर्न चाहनेहरुलाई भने ३ लाख ५० हजारमा पढाइने उनले बताए ।
एडीएचएमको १५ महिने सैद्धान्तिक र प्रयोगात्मक कक्षा पश्चात नेपाल तथा भारतको प्रतिष्ठित ३–५ तारे होटलमा इन्टर्नशीपका लागि विद्यार्थीलाई पठाइने विद्यालयले जनाएको छ ।
डुवाल कोर्ष गर्दा विद्यार्थीले एकै पटक प्लस टु, एडीएचएम र इन्टर्न गरी तीनवटा प्रमाणपत्र प्राप्त गर्ने इञ्चार्ज पाठकले बताए ।
होटल मेनेजमेन्ट पढ्नका लागि एसईईको सबै विषयमा १.६ जीपीए वा डी प्लस ल्याएर उत्तीर्ण गरेको हुनुपर्नेछ ।
यहि श्रावण दोस्रो हप्तादेखि कक्षा सञ्चालन गरिने पाठकले जानकारी दिए । एचएममा ७० जना र एडीएचएममा २० जनालाई भर्ना लिइने उनले बताए ।
अनुभवी शिक्षक, व्यवस्थित भौतिक संरचना, खुल्ला कम्पाउण्ड तथा खेलकुदका लागि उपयुक्त स्थान भएका कारण विद्यार्थीको आकर्षण बढ्ने बताइएकोछ । गोमेन्द्रले यस अघिदेखि नै कम्प्युटर साइन्स र विजनेस स्टडीज अध्यापन गराउँदै आइरहेको छ ।