झापा ट्राफिकले उठायो ३ करोड ९५ लाख राजश्व, मापसेबाट मात्रै २० लाख ९६ हजार
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक बर्ष ०७९÷८० मा ३ करोड ९५ लाख ५६ हजार राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले ५८ हजार २६ वटा सवारी साधन कारबाहीबाट सो राजश्व संकलन गरेको हो ।
सबैभन्दा धेरै असार महिनामा गरिएको ७ हजार ७२६ वटा सवारी साधन कारबाहीबाट ५० लाख ४२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै साउन महिनामा सबैभन्दा कम राजश्व संकलन भएको छ । साउनमा ३ हजार १५० वटा सवारी साधन कारबाहीमा पर्दा २२ लाख ९१ हजार रुपैँया राजश्व रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशीले जानकारी दिए ।
सबैभन्दा धेरै मोटरसाइकल कारबाहीमा परेका छन् । सो अवधिमा १८ हजार ७१८ वटा मोटरसाइकल कारबाहीमा परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेका चालकलाई गरेको कारबाहीबाट मात्र २० लाख ९६ हजार रुपैँया राजश्व संकलन गरेको छ । दुई हजार ९६ वटा सवारी साधन मापसे कारबाहीमा परेका थिए । मादक पदार्थ सेवन गरेर सबैभन्दा धेरै मोटरसाइकल चलाउने गरेको पाइएको छ । गत आवमा १ हजार २१९ वटा मापसे गरेर चलाएको मोटरसाइकल चालकलाई कारबाही गरिएको प्रहरी नायब निरीक्षक जीवन कार्कीले जानकारी दिए ।
कार्यालयले गत आवमा ५ हजार ४६८ पटक विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सो कार्यक्रममा १ लाख ९९ हजार ८७ जना मानिस सहभागी भएको प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । ट्राफिक प्रहरीले जनचेतनामुलक कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्र्थीे, नयाँ सवारी चालक तथा सर्वसाधारणलाई कक्षा सञ्चालन गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, ट्राफिक सप्ताहका कार्यक्रम गर्ने, गोष्ठी तथा अन्तरक्रिया आदि गर्ने गरेको छ ।
गत आवमा झापामा ८०४ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १ हजार १६८ वटा सवारी साधन संलग्न छन् । सो दुर्घटनामा परी ८२ जना पुरुष, २४ जना महिला, ३ जना बालक र ५ जना बालिका गरी ११४ जनाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।