आजदेखि बेलायतमा काम गर्न चाहने नेपाली नर्सका लागि आवेदन खुल्यो
काठमाण्डौ । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।
श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलका अनुसार बेलायत जान इच्छुक नेपाली नर्सले आज (शुक्रबार) देखी आवेदन दिन सक्नेछन्। श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ । बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि अक्टोवर १९ सम्ममा अर्थात तीन महिना भित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउनेछन् ।
न्युनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउने छन् ।
बेलायत जान आवेदन दिने नर्सले आईईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र २ वर्षको कार्यअनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ ।
रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरुले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।
गभर्मेन्ट टु गभर्मेन्ट प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागिएकाले यसरी जाने नर्सहरुले बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्नेछ ।
यसरी रोजगारीका लागि जाने नर्सहरुले ५ वर्ष मात्र काम गर्न पाउने छन्। नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौ महिनामा दुई देशबीच सम्झौता भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम मन्त्रालयतका सचिव र नेपालका लागि बेलायती राजदूतबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता भएको लामो समय प्रोटोकलमा अड्किएको थियो ।
दुई देशबीच सम्झौता भएको झण्डै एक वर्षपछि नर्सहरु रोजगारीका लागि बेलायत जान पाउने भएका छन् । बेलायत जाने नर्सहरुले सुरुमा वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउने छन् भने बेलायतमा रजिष्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् ।