भयावह बन्दै आत्महत्या, प्रत्येक २७ घण्टामा झापामा घट्छ एउटा घटना
कसैको व्यवहार फरक देखिए मनोपरामर्शदाताको सल्लाह लिनु पर्छ : डा. निरौला
बिर्तामोड । पछिल्लो समय झापामा आत्महत्याको घटना भयावह बन्दै गएको पाइएको छ । औषतमा हरेक २७ घण्टामा एउटा आत्महत्याको घटना हुने गरेको पाइएको हो ।
झापामा आर्थिक बर्ष २०७८÷७९ मा ३१५ र २०७९÷८० मा ३१७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरु मध्ये २५.४७ प्रतिशत १६ देखि २५ बर्ष उमेर समूहका छन् । दुई आवको तथ्याङ्कलाई हेर्दा असार महिनामा सबैभन्दा धेरै आत्महत्याको घटना भएको देखिएको छ । आर्थिक बर्ष २०७८÷७९ मा ४६ र २०७९÷८० मा ४८ वटा आत्महत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइएको छ । आर्थिक बर्ष २०७८÷७९ मा २१२ जना पुरुष र १०३ जना महिला साथै २०७९÷८० मा १८५ जना पुरुष र १३२ जना महिलाले आत्महत्या गरेका थिए । यसरी हेर्दा आत्महत्या गर्ने पुरुष ६२.८१ र महिला ३७.१८ प्रतिशत रहेका छन् ।
उमेरगत तथ्याङ्कलाई हेर्दा १६–२५ उमेर समूह २५.४७ प्रतिशत, ३६–४५ उमेर समूह १८.०३ प्रतिशत, २६–३५ उमेर समूह १७.८७ प्रतिशत, ४६–६० उमेर समूह १७.५६ प्रतिशत, ६० बर्षभन्दा माथि १४.३९ प्रतिशत र १६ बर्षभन्दा मुनि सबैभन्दा कम ६.३२ प्रतिशतले आत्महत्या गर्ने गरेको पाइएको छ ।
कलेज पढ्ने उमेर समूहका मानिसहरु आत्महत्याको घटनामा बढी संलग्न रहेको पाइएको छ ।
मानिसलाई विभिन्न कारणले आत्महत्या गर्न प्रेरित गर्ने बरिष्ठ मनोचिकित्सक डा. आभाष निरौलाले बताए । जैविक, मनोवैज्ञानिक र वातावरणीय कारणले मानिसलाई मानसिक रोग लाग्ने तथा आत्महत्याको सोँच आउने उनको भनाई छ । आत्महत्यामा संलग्नमध्ये ९० प्रतिशत मानिस डिप्रेसनको शिकार हुने गरेका छन् । बाइपोलर डिस्अर्डर, नशाको कुलतआदिका कारण मानिसले आत्महत्या गर्ने डा. निरौलाले जानकारी दिए ।
परिवारमा आत्महत्या गरेको इतिहास भएमा अरुले पनि आत्महत्या गर्ने उच्च जोखिम हुनुका साथै अगाडी नै कसैले आत्महत्या गर्ने प्रयास गरेको भए फेरी दोहोर्याएरपनि आत्महत्या गर्न सक्ने उनले बताए । गरिबी, आर्थिक तनाव, कमजोर शारीरिक व्यक्तित्व तथा सनकका कारणपनि मानिसले आत्महत्या गर्ने डा. निरौलाले जानकारी दिए । कतिपय बालबालिकाहरु अभिभावकले आफ्नो इच्छा पुरा नगरिदिँदा र युवायुवतीहरुले आफ्नो प्रेमी वा प्रेमिकाले धोका दिँदा सनकमा आएर आत्महत्या गर्ने गरेको उनको भनाई छ ।
भुक्ने कुकुरले टोक्दैन भने झैँ आत्महत्या गर्छु भन्ने मान्छेले गर्दैन भन्ने भनाई गलत भएको डा. निरौलाको भनाई छ । मानिसले आत्महत्याको बिषयमा कुरा गर्छ भने त्यसलाई गम्भिरताका साथ लिनु पर्ने उनी बताउँछन् । आत्महत्याको सोँच आएको मानिसले परिवारको साथ पाएमा, उसको तनाव व्यवस्थापन भएमा वा मानसिक रोगी भए उपचार पाएमा आत्महत्याको सोँच हराउने उनले बताए ।
आत्महत्या गर्ने सोँचमा पुगेको व्यक्तिलाई सुरक्षित स्थानमा राखेर उसको समस्या बुझ्न सकिएमा आत्महत्या गर्नबाट बचाउन सकिन्छ । आत्महत्या गर्ने सोँच बनाएका कतिपय व्यक्तिले केहि लक्षण देखाउने उनको भनाई छ । परिवारले आफ्ना सदस्यहरुको फेरिएको व्यवहार, प्रेमीप्रेमिकाले आफ्ना पार्टनरको व्यवहार, श्रीमानश्रमतीले एकआपसको व्यवहार नियाल्ने र आपसी समझदारी कायम गर्न सकेमा आत्महत्या न्यूनिकरणका गर्न सकिने डा. निरौलाले जानकारी दिए । त्यस्तो अवस्थामा कपल काउन्सेलिङ गर्न सकिने उनले बताए । त्यसरी फरक व्यवहार कसैको देखिएमा मनोपरामर्शदाता वा डाक्टरलाई भेट्नु पर्ने उनको सुझाव छ ।
जटिल सामाजिक समस्याको रुपमा रहेको आत्महत्या न्यूनिकरण गर्नका लागि विद्यालय तहदेखि नै जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने प्रहरी नायव उपरीक्षक सुरज कार्कीको भनाई छ । पालिकाहरुले यस सम्बन्धि योजना नै अघि सारेर कार्यक्रम गर्न सके आत्महत्या न्यूनिकरण गर्न सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् ।