२०८३ बैशाख ६ गते , आईतबार

बिस्थापित व्यवसायीले निर्माण गरे ‘नयाँ बुधबारे बजार’

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ९ गते , शनिबार
बिस्थापित व्यवसायीले निर्माण गरे ‘नयाँ बुधबारे बजार’

बिर्तामोड । बिर्तामोड५ स्थित बुधबारे बजारबाट बिस्थापित व्यवसायीले आफैँ बजार निर्माण गरी सञ्चालनमा ल्याएका छन् । गत जेठ ८ गते बिर्तामोड नगरपालिकाले डोजर लगाएर टहरा भत्काइदिएपछि बिचल्लीमा परेका उनीहरुले आफै बजार निर्माण गरी व्यवसाय संचालन गरेका हुन् ।

पुरानो बजारको नजिकै उत्तर पूर्वमा करिव डेढ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बजारको नामाकरण उनीहरुले नयाँ बुधबारे बजारगरेका छन् । नगरपालिकाले टहरा भत्काउँदा करिव १४० जना व्यवसायी बिस्थापित भएका थिए । त्यसमध्ये ६० जना व्यवसायीहरुले मिलेर जग्गा लिजमा लिई आफै नयाँ बुधवारे बजार निर्माण गरेका हुन् । २६ वटा कपडा , २२ वटा जुत्ता , ३ वटा कस्मेटिकलगायतका पसल रहेको सो व्यवस्थित बजारको आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् ।

उनले समन्वय गर्नेहरुको अराजक गतिविधि र घुसपैठका कारण बुधवारे हटियाका व्यवसायीहरुले दुःख पाएको भन्दै खेद व्यक्त गरिन् । उनले खाली गराउनेक्रममा व्यवसायीमाथि अन्याय भएको स्वीकार्दै विनासपछि विकास हुन्छ भन्ने कुरालाई मम गरेको बताइन् । बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले बुधवारे हटिया खाली गराउने बेलामा राजनीतिकरण भएकाले आफूहरुले व्यवसायीहरुलाई व्यवस्थापन गर्न नसकेको बताए । उनले असहज परिस्थितिबाट गुज्रिएर व्यवसायीहरुले आफ्नो व्यवस्थापन आफै गरेकोमा खुशी व्यक्त गरे । चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीले संघर्षबाट गुज्रिदै बुधवारे हटियाका व्यवसायीहरुले बजार स्थापना गरेकोमा बधाई दिए ।

त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले नगरपालिकाले खाली गराउन खोज्दा विभिन्न संघसंस्थाले उचाल्दा व्यवसायीहरुले दुःख पाएको स्मरण गर्दै आफ्नो पौरख र विवेकले समस्या समाधान गरेकोमा व्यवसायीहरुप्रति सम्मान जनाए । अम्बिका दर्नालको ९ धुर, गंगा दर्नालको १० धुर, कमल श्रेष्ठको २ कठ्ठा ३ धुर र अर्का एकजनाको ६ धुर जग्गा लिजमा लिई आफूहरुले ५६ दिनमा ६० वटा सटर निर्माण गरेको वजार व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद अधिकारीले बताए । एकजना व्यवसायीले प्रतिसटर करिव ३ लाख रुपैयाँ खर्च गरेर बजार निर्माण गरेको जानकारी दिए ।

बुधबारे हटियाबाट बिस्थापित भएका व्यवसायीहरुले बिर्तामोडको अन्य दुई स्थानहरु (मनमोहन हस्पिटलको पूर्व पटि र पश्चिम स्टेण्डको दक्षिण पटि) मा बजार निर्माण गरिरहेका छन् ।

सम्बन्धित समाचार