एशिया कप खेल्न सन्दिप भोलि पाकिस्तान जाने
काठमाण्डौ । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि (सोमबार) पाकिस्तान जाने भएका छन् ।
सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ । तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले टोलीसँगै लगेको थिएन ।
एकदिवसीय फम्र्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ, जुन समूहमा नेपालले विश्वका बलिया राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ । पाकिस्तान अहिले विश्वको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग हुनेछ ।