२०८३ बैशाख ५ गते , शनिबार

मुलुक मै पहिलो पटक कन्याममा ‘टी टेस्टिङ सेन्टर’ निर्माण

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २५ गते , सोमबार
मुलुक मै पहिलो पटक कन्याममा ‘टी टेस्टिङ सेन्टर’ निर्माण

इलाम । चियाको राजधानीको रुपमा परिचित इलामको कन्याममा टी टेस्टिङ सेन्टरनिर्माण भएको छ । मुलुकमै पहिलो पटक इलामको कन्याममा टी टेस्टिङ् तथा अनुसन्धान केन्द्र निर्माण भएको हो ।

विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र प्रदेश सरकारको लागानीमा उक्त टी टेस्टिङ्सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको हो ।

आर्थिक वर्ष ०७६÷७७ मा निर्माण सुरु भएको टी टेस्टिङ् सेन्टरसहितको अनुसन्धान केन्द्रमा १३ करोड ६५ लाख लगानी भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिए । दुई चरणमा गरेर केन्द्र निर्माण सम्पन्न भएको हो । पहिलो चरणमा आर्थिक वर्ष ०७६÷७७ मा भवन निर्माणको काम अगाडि बढेको थियो भने दोस्रो चरणमा भित्री डिजाइनसहितको काम भएको हो ।

सुवेदीका अनुसार अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष ०८०÷८१ मै टी टेस्टिङ्सहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताए । देशमै पहिलो पटक टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

केन्द्रमा चिया सङ्ग्रहालय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेष्टहाउस र सभाहल रहेको छ । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधासम्पन्न गेष्ट हाउस सञ्चालन गर्ने नगरप्रमुख राईले जानकारी दिए । चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्नका आउनेका लागि गर्विलो ठाउँ तयार भएको उनको दावी छ ।

केन्द्र सञ्चालनमा आएपछि नगरको आन्तरिक आम्दानीसमेत बढ्ने बताइएको छ । केन्द्रमा स्वदेशी तथा विदेशी चिया पारखीले चिया खरिद गर्न सक्नेछन् ।

चियाको अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी अनुसन्धान केन्द्रमा राखिनेछ । सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ ।

सम्बन्धित समाचार