२०८३ आश्विन १७ गते , शनिबार

गृह जिल्लामा नेम्बाङको श्रद्धाञ्जली सभा, थापाले गरे प्रशंसा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ३ गते , बुधबार
गृह जिल्लामा नेम्बाङको श्रद्धाञ्जली सभा, थापाले गरे प्रशंसा

इलाम । नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।

नेम्बाङले देशको स्वाधीनता र बाहिरी हस्तक्षेपविरुद्ध लडेका कारण संविधान जारी गर्न सम्भव भएको पनि उनले बताए।

नेम्बाङको गृह जिल्ला इलाम सदरमुकाममा आयोजित श्रद्धाञ्जली सभामा बादलले पार्टी उपाध्यक्ष नेम्बाङले संविधान निर्माणमा सबैको सहमति र समन्वयका लागि उच्च भूमिका निर्वाह गरेको स्मरण गरे।

नेम्बाङ सच्चा समाजवादी र विकासवादी भएको भन्दै उपाध्यक्ष बादलले देशको विकास पनि समाजवादबिना सम्भव नभएको बताए।

‘देशको विकास समाजवाद, औद्योगीकरण र कृषिको क्रान्तिबिना सम्भव छैन,’ उनले भने, ‘नेम्बाङ पनि यही बाटोमा हुनुहुन्थ्यो, देश समृद्ध बनाउन सधैं प्रयासरत हुनुहुन्थ्यो । समाजवादमा नेम्बाङलाई अटल विश्वास थियो ।’

एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठ, जिल्ला इन्चार्ज डा. शिवमाया तुम्बाहाम्फे लगायतले नेम्बाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

एमाले उपाध्यक्ष, इलाम क्षेत्र–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व सभामुख नेम्बाङको गत भदौ २६ गते हृदयाघातका कारण काठमाण्डौमा निधन भएको थियो ।

सम्बन्धित समाचार