पहिलोपटक झापामा डोरीतान प्रतियोगिता हुँदै
बिर्तामोड । झापामा पहिलोपटक ‘जिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पियनसीप २०८०’ प्रतियोगिता हुने भएको छ । आगामी २४ गते बिर्तामोडमा उक्त प्रतियोगिता हुन लागेको हो ।
झापा जिल्ला डोरीतान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिष्पर्धा गर्ने अध्यक्ष दवाडीले जानकारी दिइन् ।
बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसको प्रांगणमा हुने प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा रेफ्रि संघका कोषाध्यक्ष सन्तोष तामाङले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष डा. सुवासश्री पोखरेल, कोशी प्रदेश अध्यक्ष रिता न्यौपाने, उपाध्यक्ष हिमा पौडेल लगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए ।
प्रतियोगिता सम्बन्धित पालिकाको हुनुपर्ने र खाली खुट्टा खेल खेलाइने अध्यक्ष दवाडीले जानकारी दिइन् । अध्यक्ष दवाडीका अनुसार टीममा ८ जना सहभागी हुने, ६४० केजी तौलमा खेल खेलाइने र पुरुष सहभागी हुनेछन् ।
कार्यक्रमकै बिच आगामी नोभेम्बर ९ का दिन बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुने रोशन ओझा, देवराज केसी, सुमन राजवंशी, मिलन अधिकारी, महेश चौधरी र रमेश पोखरेललाई विदाई गरिएको थियो ।