हलले गरे निर्माताको ‘दिमाग खराब’, फिल्म प्रदर्शन स्थगित
बिर्तामोड । गत शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित गरिएको छ । चलचित्र हलसँग विमति राख्दै यो फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण कम्पनी सिनेमा आट्र्सले जनाएको छ ।
हलहरूले नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको आट्र्सले एक बिज्ञप्ति मार्फत बताएको छ । ‘विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०/५० प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ ।’
जबसम्म विदेशी फिल्म र नेपाली फिल्मलाई बराबर शेयर बाँडफाँड हुँदैन तबसम्मको लागि नेपालमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट फिल्म देखाउने समेत विज्ञप्तिमा उल्लेख छ ।