घरेलु टोली भारतलाई हराउँदै अष्ट्रेलियाले उचाल्यो विश्वकपको उपाधि
झापा । विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले उचालेको छ । आइतबार भएको फाइनल खेलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको हो ।
ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको हो ।
भारतको अहमदाबादमा भएको फाइनल खेलमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।
जबकि अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । मोहम्मद शामीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेट लिए । शामीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।
खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिए । उनी १५ रनमा आउट भए । आफ्नो अर्को ओभरमा उनले नै स्टिभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो कटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकि रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।
४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएसँगै दबाबमा आएको अष्ट्रेलियाले पावर प्लेमा निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले ।
दुवैले चौथो विकेटका लागि १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।
म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।
हेडले चोटका कारण विश्वकपको सुरुवाती खेल गुमाएका थिए । चोटमुक्त भएर टिममा फर्किएका उनले न्यूजिल्याण्डविरुद्ध ५९ बलमा शतक बनाउँदै शानदार पुनरागमन गरे । सेमिफाइनलमा एकै ओभरमा दुई विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राख्न भूमिका खेलेका उनले ब्याटिङका क्रममा पनि एउटा एण्ड सम्हाल्दै ६२ रनको पारी खेलेका थिए । फाइनलमा पनि उनी म्यान अफ दि म्याच बने ।
भारतको आक्रामक सुरुवात
टस जितेको अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिंदा रोहित शर्माले भने कि उनले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने थिए ।
उनले भारतलाई राम्रो सुरुवात पनि दिलाएका थिए । तर पाँचौं ओभरको दोस्रो बलमा मिचेल स्टार्कले शुभमन गिललाई एडम जाम्पाको हातबाट क्याच गराए । रोहितको आक्रामक ब्याटिङ रोकिएको थिएन । उनले जोस ह्याजलउडको दुई ओभरमा चार चौका र मिचेल स्टार्कको बलमा छक्का हानेका थिए । सातौं ओभरमा स्टार्कलाई लगातार तीन चौका हान्दै भारतको स्कोर ५० पुर्याएका थिए ।
दशौं ओभरमा ग्लेन म्याक्सवेललाई पनि छक्का र चौका हानेका उनले गुडलेन्थ बलमा लङ अफमाथि शट हान्न चाहेका थिए । तर प्वाइन्टमा रहेका ट्राविस हेडले करिव ३० फिट पछाडि गएर उत्कृष्ट क्याच लिए । ३१ बलको सामना गरेका उनी ४७ रनमा आउट भए ।
टर्निङ प्वाइन्ट
अर्को ओभरमा अष्ट्रेलियाका कप्तान कमिन्सले श्रेयस अय्यरलाई पभेलियनको बाटो देखाए । लगातार दुई विकेट गुमाएसँगै भारत दबावमा आयो, रनको गतिमा ब्रेक लाग्यो ।
भारतको आश क्रिजमा विराट कोहली र केएल राहुलमाथि टिकेको थियो । २६औं ओभरमा विराटले ५६ बलमा ७२औं अर्धशतक पुरा गरे ।
तर चौथो विकेटका लागि केएल राहुलसँग ६७ रनको साझेदारी गरेका उनी २९औं ओभरको तेस्रो बलमा आउट भए । उनले ५४ रन बनाए । अष्ट्रेलियाका कप्तान कमिन्सको बलमा कोहलीको प्लेडअन ९बोल्ड० भएपछि रंगशालामा रहेका हजारौं समर्थक स्तब्ध भए ।
त्यसपछि रवीन्द्र जडेजा आए, तर भारतले थप ३० रन जोड्दा उनी पनि आउट भए । यद्यपि अर्को एण्डमा सुस्त गतिमा रन बनाएपनि टिकेर खेलिरहेका राहुलले अर्धशतक पूरा गरेका थिए । ४२औं ओभरमा स्टार्कको बलमा आउट भए । १०७ बलको समना गरेका उनले ६६ रनको महत्वपूर्ण पारी खेले ।
अष्ट्रेलियाका स्टार्कले ३, कमिन्स र ह्याजलउडले २र२ विकेट लिए भने म्याक्सवेल र एडम जाम्पाको नाममा एकरएक विकेट रह्यो ।