झापा लिग : आज भएको खेलमा कमल र झापा विजयी
बिर्तामोड । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रालि प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै कमल र झापाले तीन–तीन अंक जोडेका छन् । शनिबार भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हरायो । खेलको ११ औँ मिनेटमा कमल गाउँपालिकाका नरबहादुर मगरले गोल गरे । त्यस्तै, खेलको ५९औँ मिनेटमा युनिस मगरले अर्को गोल गरे । दमकका सञ्जय धिमालले ७२औँ सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ दि म्याच कमलका युनिस मगर भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
त्यस्तै शनिवार भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले गौरादह नगरपालिकालाई ३–० गोल अन्तरले हरायो । जारी लिगमा यो नै ठुलो गोल अन्तरको जित हो ।
झापा गाउँपालिकाको तर्फबाट खेलको १९औँ मिनेटमा मर्गुस किस्कू, ३२औँ मिनेटमा कप्तान मिलन ताम्ली र ५४ औँ मिनेटमा किरण लिम्बूले गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच झापाका उमेश मुर्मू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली र सौजन्यकर्ता रविन्द्र बस्नेतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।