झापा लिग: आजको खेलमा बुद्धशान्ति र मेचीनगर विजयी
बिर्तामोड । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बुद्धशान्ति र मेचीनगर विजयी भएका छन ।
बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले शानदार जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको छ । जारी लिगमा आजसम्म यो नै ठुलो गोल अन्तरको जित हो ।
त्यस्तै, आजको दोस्रो खेलमा मेचीनगर नगरपालिका विजयी भयो । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराएको हो ।मेचीनगरले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हरायो । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्ति र भद्रपुरले तीनतीन अंक जोडेका छन् ।
पहिलो खेलको २५ औँ, ६४ औँ, ६९ औँ र ७२ औँ मिनेटमा बुद्धशान्ति गाउँपालिकाका बबिन बोहोराले गोल गरे । बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यस्तै, खेलको ४५ औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए ।