इकमले हटायो 'श्री ५' लेखिएको शिलालेख
बिर्तामोड । हजारौं समर्थकको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले अनावरण गरेको इकम कलेजको शिलालेख दुई दिन नबित्दै कलेजले हटाएको छ । बिर्तामोड-१ स्थित इकम कलेजले संविधान विपरित 'श्री ५ महाराजधिराज' लेखिएको शिलालेख हटाएको हो ।
आठ बर्ष अघि स्थापित कलेज मंसिर ९ गते पूर्व राजा ज्ञानेन्द्र शाहले हजारौं समर्थकको उपस्थितिमा उद्घाटन गरेका थिए । पूर्व राजा शाहले अनावरण गरेको शिलालेखमा राजतन्त्र कायमै रहेको भान हुने गरि शिलालेख लेखिएपछि चौतर्फी विरोध भएको थियो । शिलालेखमा उल्लेखित शब्दावली संविधान विपरित भएको भन्दै प्रमुख जिल्ला अधिकारीले हटाउन निर्देशन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयबाट पनि शिलालेखमा उल्लेखित शब्दावली संविधान विपरित भएको जानकारी आएसँगै शिलालेख हटाइएको प्रबन्ध निर्देशक निर्मल निरौलाले जानकारी दिए । 'हामीले त्यो शिलालेख हिजै हटायौँ,' उनले भने, 'शब्दावली सच्याएर अर्को लेख्न लगाएका छौँ ।' शाहको सचिवालयबाट आएको फर्म्याटमा शिलालेख लेखिएको र त्यहाँ उल्लेखित शब्दावलीमा कलेजको ध्यान नपुग्नु कमजोरी भएको उनले स्वीकार गरे ।