बिर्तामोडका तीन उत्कृष्ट शिक्षक पुरस्कृत
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कृत गरेको छ । शिक्षा दिवसको अवसरमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण बिहीबार प्रदान गरिएको हो ।
नगरपालिकाले कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई पुरस्कार प्रदान गरेको हो । मावि तर्फ दुर्गा मावि गरामनीका शिक्षक लक्ष्मण शिवाकोटी, आधारभूत तर्फ मोहनमाया माविका शिक्षक भेषराज चौलागाई र प्राथमिक तर्फ जनता प्राविका डिल्लीरमण भट्टराई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका हुन् । उत्कृष्ट शिक्षकहरुलाई प्रति ब्यक्ति नगद ५० हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।
नगरले दोस्रो पटक यस प्रकारको पुरस्कार वितरण गरेको छ । नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो । आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखा प्रमुख तिलछ भण्डारीले जानकारी दिए । अघिल्लो वर्ष शेरबहादुर श्रेष्ठ, जनक थापा र श्याम दाहालले उक्त पुरस्कार प्राप्त गरेका थिए ।
यस्तै, नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दुई जना विद्यार्थीहरुलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । महेन्द्ररत्न माविकी छात्रा विद्या दाहाल र मोहनमाया माविकी छात्रा एलिना तिम्सिनालाई पुरस्कृत गरिएको हो।
सोही कार्यक्रममा २०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरुलाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनोसहित विदाई गरिएको छ । विदाई हुने शिक्षकहरुमा तोयानाथ काफ्ले सरस्वती मावि, कृष्ण प्रसाद पाठक दुर्गा मावि, देवी प्रसाद पराजुली दुर्गा मावि, विरेन्द्र प्र. बुढाथोकी सहिद लक्ष्मी प्रावि, नरेन्द्र प्रसाद गुरुङ्ग चमरधाप प्रावि, कृष्ण प्रसाद रिजाल वीर अमरसिंह मावि, रघुनाथ पौडेल महेन्द्र रत्न मावि, रवीन कुमार शर्मा महेन्द्र रत्न मावि, दिल कुमार मुखिया महेन्द्र रत्न मावि, कृष्ण सुवेदी निराकार शुक्रराज आवि, र प्रेम बहादुर लिम्बु महेन्द्रज्योती मावि रहेका छन् ।
कार्यक्रममा स्थानीय तहको पाठ्यक्रम आचरण सचेतना शिक्षा निर्माण समितिका पदाधिकारी युवराज पाण्डे, डम्बरबहादुर बस्नेत, मोहन ओली, युवराज कट्टेल, टंक सेढाई, श्याम दाहाल, लीला भण्डारी, भोजराज दाहाल, उमा भण्डारी, देवेन्द्र हुमागाई, टीका पोख्रेल, तिलचन भण्डारी, दिनेश प्र. आचार्य र केशर बहादुर खवासलाई सम्मान गरिएको थियो ।