झापा लिग : बिर्तामोडको लज्जास्पद हार, अर्जुनधारा र मेचीनगर सेमिफाइनल प्रवेश
बिर्तामोड । भद्रपुरको मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा अर्जुनधाराले बिर्तामोडलाई पराजित गरेको छ । अर्जुनधाराले ५–० गोल अन्तरले बिर्तामोडलाई पराजित गरेको हो ।
खेलको १९औँ र २८औँ मिनेटमा निखिल तामाङले गोल गरे । त्यस्तै, ४२औँ मिनेटमा सुवासचन्द्र लिम्बू, ४७औँ मिनेटमा राजेश दाहाल र ७४औँ मिनेटमा प्रतिक कन्दङवाले गोल गरेका थिए ।
खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी लगायतले नगद दुई हजार र ट्रफी प्रदान गरेका थिए ।
त्यस्तै, आज भएको दोस्रो तथा प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ ।
मेचीनगरले गौरादह नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा मेचीनगरका अजय राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६५ औँ मिनेटमा गौरादहका पासाङ लामाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । तर, खेलको ७३ औँ मिनेटमा मेचीनगरका लागि अजय राजवंशीले अर्को गोल थपेपछि मेचीनगरको सेमिफाइनल यात्रा टुंगो लागेको थियो ।
जितसँगै मेचीनगर पनि सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले अर्जुनधाराको सामना गर्नेछ ।
खेलको प्लेयर अफ दि म्याच मेचीनगरका अजय राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिपमणि रेग्मीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।