विराटनगर आगलागीका घाइतेको कीर्तिपुरमा उपचार हुँदै
बिर्तामोड । बुधबार विराटनगरको एक कवाडी गोदाममा आगलागीमा परेर घाइते भएकाहरुको कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचार भइरहेको छ । मोरङको विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको एक कबाडी गोदाममा आगलागी हुँदा उनीहरु गम्भिर घाइते भएका थिए ।
आगलागीमा परि दुई जनाको मृत्यु भएको थियो ।
घाइते सबैलाई सेनाको स्काई ट्रकमा हालेर काठमाण्डौ लगिएको थियो । उनीहरुलाई बिहीबार साँझ साढे ६ बजेपछि कीर्तिपुुरस्थित बर्न अस्पताल पुर्याएर उपचार थालिएको हो ।
यसअघि घाइतेमध्ये तीन जनाको विराटनगरस्थित न्यूरो अस्पताल र एक जनाको कोशी अस्पतालमा उपचार गरिएको थियो । तर, घाइतेको अवस्थालाई ध्यानमा राखेर काठमाण्डौ लगिएको बताइएको छ ।
६५ वर्षीया सुशिला पासवान र ६० वर्षकी रिता सरदारको शरीरको धेरै भाग जलेको छ । त्यस्तै ५८ वर्षका किशोर पासवान र ३० वर्षकी पिङ्की कामतको शरीरको तल्लो भाग बढी जलेको जानकारी दिइएको छ । उनीहरुसँगै चार जना कुरुवालाई पनि सँगै सेनाको कल साइन एनए ०६४ भएको स्काइ ट्रकमा राखेर लगिएको हो ।