२०८३ आश्विन १७ गते , शनिबार

संकल्प यात्रा कसैको विरुद्धमा होइन – ईश्वर पोखरेल

sajilo news
परिवेश मिडिया
२०८० पौष ३ गते , मंगलबार
संकल्प यात्रा कसैको विरुद्धमा होइन – ईश्वर पोखरेल

बिर्तामोड । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले भर्खरै सम्पन्न गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कसैको विरुद्धमा नभएको बताएका छन् ।

सोमबार प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले संकल्प यात्रा कसैको विरुद्धमा नभई त्यहाँको जनताको अवस्था बुझ्नका लागि भएको बताएका हुन् ।

‘जनता निराश छन्, पहाडबाट तराई झर्ने र विदेशीने क्रम बढ्दो छ,’ उनले भने, ‘हामीले त्यो किन भइरहेको छ, जनता के चाहन्छन् भनेर बुझ्नु थियो ।’ यात्रा उत्साहपूर्वक सकिएको पोखरेलले बताए । यात्रामा देखिएको जनसहभागिताले एमाले उत्साहित भएको उनको भनाई थियो ।

पहिचानवादीहरुले कोशीमा गरेको अवरोधको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा पोखरेलले संवादबाट समस्या समाधान गर्न र कोशी पुनः नामाकरणको प्रक्रिया भएकाले त्यो प्रक्रियाबाट अगाडी बढ्न सुझाव दिए । ‘त्यसको नि एउटा प्रक्रिया छ, त्यो प्रदेश सभाको बिजनेस हो,’ उनले भने, ‘एमालेलाई ढुंगा हानेर केहि हुँदैन, हामी त्यसरी भौतिक आक्रमणमा उत्रिने कुराको विरोध गर्छौँ ।’

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको संकल्प यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गरेको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा झापा इञ्चार्ज विशाल भट्टराई, जिल्ला अध्यक्ष दिपक कार्की, नेतृ तथा सांसद हर्कमाया विश्वकर्मालगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार