कर्णाली साकोसको शेयर पूँजी ४९ करोड नजिक
बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ४८ करोड ८० लाख २१ हजार सात सय रुपैँया पुगेको छ । २०५७ सालमा ५३ हजार सात सय रुपैँया शेयर पूँजीबाट सहकारीले कारोबार शुरु गरेको थियो ।
कर्णाली साकोसले बुधबार बिर्तामोडको आदर्श व्याङ्क्वेटमा २४औँ स्थापना दिवस तथा २३औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले सार्वजनिक गरेको बार्षिक प्रगती प्रतिवेदनमा २६ जना शेयर सदस्यबाट कारोबार शुरु भएको संस्थामा हाल ५०७१६ जना शेयर सदस्य रहेको उल्लेख छ ।
कर्णालीले इलामको ४, झापाको १५ र मोरङको ७ गरी २६ पालिकामा ४१ वटा सेवाकेन्द्रमार्फत कारोबार गरिरहेको छ । साकोसले ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने, १ लाख सदस्य पुर्याउने, सेवा केन्द्र विस्तार गरेर ६० वटा पुर्याउने, शेयर पूँजी १ अर्ब पुर्याउने भिजन २०९० प्रक्षेपण गरेको छ । कर्णालीले गत आवमा ४ अर्ब ३६ करोड २१ लाख ७ हजार २०४ रुपैँयाको वासलात तयार पार्दा ९ करोड ११ लाख ५० हजार ६०९ रुपैँया खुद नाफा आर्जन गरेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिए ।
कर्णालीले १० वटा शिर्षकमा बचत कारोबार सञ्चालन गरेको छ भने ९ वटा फरक क्षेत्रमा ऋण लगानी गरिरहेको छ ।
कार्यक्रममा कर्मचारीहरु पुष्पलता ढुंगाना, ताराबहादुर राई, मञ्जु खत्री, इन्दिरा ढुंगाना, उमेश गणेश, गीता निरौला, उद्धव कार्की, चैतन्य अधिकारी र एकराज कार्कीलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको थियो ।
स्थापनाकालका सदस्यहरु जयप्रसाद गौतम र भुपेन्द्र भट्टराईलाई समेत मायाको चिनो र खदाले सम्मान गरिएको थियो ।
कार्यक्रमका अतिथी जिल्ला सहकारी संघका सदस्य केशव बस्नेतले सहकारीहरुले अब उत्पादन, प्रशोधन र वितरणको क्षेत्रमा जान जरुरी रहेको बताए । बचत तथा ऋणको कारोबारमात्रले सहकारी अभियान अगाडी बढ्न नसक्ने बस्नेतले बताए । उनले तीन तहका सरकारको सहकारीप्रतिको धारणा बाझिदाँ सहकारीको विकास हुन नसकेको धारणा व्यक्त गरे ।
आगामी कार्यकालका लागि कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिमा मंसिर १९ गते नै मनोनयन दर्ता गरेर निर्वाचन कार्यक्रम अगाडी बढाएपनि सर्वसम्मत नेतृत्व चयन गर्न सकेको छैन । एउटै पदमा आवश्यक भन्दा बढी मनोनयन दर्ता भएपछि सर्वसम्मत गर्ने भन्दै सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएको स्रोतले बताएको छ । सर्वसम्मत गर्न नसकेपछि चुनावी प्रक्रियामा जाने अध्यक्ष प्रधानले बताए