उपेक्षित रोगको पहिचान र उपचारमा मिडियाको भूमिका महत्वपूर्ण हुने
बिर्तामोड । उपेक्षित उष्णप्रदेशीय रोग, मातृशिशु स्वास्थ्य, अपाङ्गता र उपेक्षाका सम्बन्धमा मिडिया संवेदनशिलता बिषयक कार्यक्रम सम्पन्न भएको छ । फेयरमेड फाउण्डेशन र सहारा नेपालको सहकार्यमा सञ्चालित विश्वास परियोजनाले बुधबार सञ्चारकर्मीहरुसँग कार्यक्रम आयोजना गरेको हो ।
सहारा नेपालको केन्द्रीय कार्यालय चारपानेमा आयोजित कार्यक्रममा उपेक्षित उष्णप्रदेशीय रोगहरुको बिषयमा जानकारी दिइएको थियो । उपेक्षित उष्णप्रदेशीय रोग विशेषगरी गरिबीको रेखामुनी रहेका मानिसहरुमा बढी पाइएको र राज्यले समेत यस्ता रोग निदानका लागि धेरै चासो नदिएको विश्वास परियोजनाका संयोजक पवनकुमार राईले जानकारी दिए । झापा र मोरङमा सञ्चालित चार बर्षे विश्वास परियोजनाले सबै रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्याउने लक्ष्य लिइएको राईले बताए ।
विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा २० वटा रोगलाई उपेक्षित उष्णप्रदेशीय रोगको सूचीमा राखेको र ती मध्ये नेपालमा १० वटा रोगबाट मानिसहरु प्रभावित भइरहेको कार्यक्रम संयोजक राईले जानकारी दिए । कुष्ठरोग, हात्तीपाइले, जुका, लुतो, कालाजार, डेंगी लगायत रोगबाट नेपालीहरु अहिलेपनि पिडीत भएको तर सम्बन्धित निकायले यसलाई उपेक्षा गरिरहेको सहारा नेपालका तालिम संयोजक मात्रिका सुवेदीले जानकारी दिए ।
कुष्ठरोग, हात्तीपाइले लगायत उपेक्षित उक्त रोगहरु सामान्य औषधीको सेवनबाट जाति हुने भएपनि रोगीहरुलाई समाजले अहिलेपनि हेलाको दृष्टिकोणले हेर्ने, समाजमा अन्धविश्वास कायम रहेको आदि कारण रोगीहरु खुल्न नसक्ने सुवेदीले बताए । सहि सूचना प्रदान गर्न, अन्धविश्वास हटाउन र जनचेतना जगाउन सञ्चारकर्मीले खेल्ने भूमिका महत्वपूर्ण हुने आयोजकको भनाई छ ।
कार्यक्रममा आर्थिक बर्ष २०७९/८० मा झापामा १५७ जना कुष्ठरोगी र ४३ जना नयाँ हात्तीपाइलेरोगी फेला परेको कार्यक्रम संयोजक राईले जानकारी दिए । औषधी सेवनमा मानिसहरुले खासै चासो नदिने गरेका कारण यस्ता रोगहरुको पूर्ण उन्मूलनमा समस्या भएको उनको भनाई छ ।
परियोजनाले स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, छाला शिविर सञ्चालन गर्ने, वर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता विकास कार्यक्रम गर्ने, आयआर्जन सम्बन्धि तालिम तथा सहयोग गर्ने गरेको कार्यक्रम संयोजक राईले जानकारी दिए । वर्थिङ सेन्टरमा क्षमता विकास तथा भौतिक सामाग्री सहयोग गरेपछि झापा गाउँपालिकास्थित वर्थिङ सेन्टरमा प्रशुति गराउन आउने महिलाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए ।
फेयरमेडले करुणा फाउण्डेशन, सहारा नेपाल र सेभ द अर्थ सुनसरीसँग सहकार्य गरेर कार्यक्रम गरिरहेको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीले यस्ता उपेक्षित रोगहरुको पहिचान, उपचार र निर्मुलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै खोजमुलक समाचार संकलन र सम्प्रेषण गरिदिन आग्रह गरे ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले खोजमुलक समाचार संकलन र प्रशासन प्रशारणका लागि तालिम र फेलोसीप उपलब्ध गराउन आग्रह गरे ।