शारीरिक सम्पर्क अस्वीकार गर्दा मारिइन् माया
बिर्तामोड । इलामको माई नगरपालिका माइती घर भई बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा डेरा गरि बस्ने माया पुलामी मगर शारीरिक सम्पर्क अस्वीकार गर्दा मारिएकी छन् । मगर माघ ८ गते बिहान करिब ६ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ६, बिहानी टोलस्थित बिग ब्रदर व्याडमिण्टन हलको ढोका छेउमा मृत फेला परेकी थिइन् । हत्यामा संलग्न एक जनालाई पक्राउ गरी आइतबार इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले बिर्तामोड नगरपालिका वडा नम्बर ८ का ४६ बर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो । शनिबार बिर्तामोड–५, हर्कलाल मार्गस्थित एक निर्माणाधिन घरमा रहेको डेराबाट प्रसाईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईले आफुले हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

यस्तो छ घटनाको नालीबेली
तीन जनासँग विवाह गरेकी ५० बर्षीया मृतक मगर पछिल्लो समय जेठा श्रीमानको तर्फका छोराबुहारीसँग बिर्तामोड–५, सगरमाथा टोलमा बस्दै आएकी थिइन् । घरेलु काम गर्दै हिड्ने उनले दिनहुँ जसो मादक पदार्थ सेवन गर्ने गरेकी थिइन् । केहि दिनदेखि मगर छोराबुहारीको डेरा छाडेर हिँडेकी थिइन् ।
मृतक मगर र प्रसाई बिच माघ ६ गते मृतककी साथी ऐनु राईको माध्यमबाट बिर्तामोडको पश्चिम बस स्टेण्डमा चिनजान हुन्छ । चिनजान पश्चात उनीहरुबिच राईले शारीरिक सम्पर्कका लागि सहमतिसमेत गराइदिन्छिन । सोहि साँझ प्रसाईको डेरामा मृतक र अभियुक्त प्रसाईबिच एकपटक शारीरिक सम्पर्कसमेत भएको अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक कार्की बताउँछन् । शारीरिक सम्पर्कपश्चात प्रसाईले मगरलाई केहि पैसा दिएर पुन भोलिपल्ट सोहि समयमा भेट्ने सहमति गर्छन् र उनीहरु छुट्न् ।
भोलिपल्ट माघ ७ गते साँझ पौने ८ बजे मगरको खोजीमा निस्किएका प्रसाई र मृतक मगरबिच अर्जुनधारा नगरपालिका ६, पुलचोकमा भेट हुन्छ र उनीहरु घटनास्थलतर्फ जान्छन् । घटना भएको स्थानमा उनीहरुबिच केहि कुराकानी हुन्छ, प्रसाईले डेरामा जाउँ भन्दै बलपूर्वक प्रस्ताव गर्छन् । यत्तिकैमा मृतक मगरले प्रसाईलाई थप्पड हान्दा प्रसाईको आँखामा लाग्छ र रीसले चुर्ण भएका प्रसाईले भुइँको ढुंगा उठाएर मगरको टाउकोमा पटक पटक प्रहार गरेर त्यहाँबाट भाग्छन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले प्रहरी निरीक्षक नरेश लिम्बूको संयोजकत्वमा अनुसन्धान टोली बनाई काम शुरु गरेको थियो । घटना स्वभाविक नदेखिएपछि प्रदेश प्रहरी कार्यालयबाट एउटा कुकुरसहितको अनुसन्धान टोली आएर घटनाको अनुसन्धान गरेपनि तत्काल कुकुरले कुनै ‘क्लु’ फेला पार्न सकेको थिएन ।
मृतकका आफन्त, साथीभाईसँगको कुराकानी, सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा प्रहरीले शनिबार प्रसाईलाई पक्राउ गरी आइतबार अदालतबाट म्याद थप गरेको छ । जिल्ला अदालत भद्रपुरबाट एक हप्ताको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले घटनास्थल छेउबाट रगतजस्तो रातो पदार्थ लतपतिएको ढुंगा र अभियुक्तको कोठाबाट रगतजस्तो रातो पदार्थ लागेको जम्पर र कटन पेण्ट एक–एक थान बरामद गरेको डीएसपी कार्कीले जानकारी दिए । विवाह प्रस्ताव र अवैध सम्बन्धका कारण घटना भएको उनले बताए । प्रसाई अविवाहित रहेको र १७ बर्ष भारतको आसाममा काम गरेर २०७२ सालमा झापा फर्किएर ज्यालामजदुरीको काम गर्ने गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा भएको सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रमुख डीएसपी दिपक भारती, जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ढुण्डीराज गिरीलगायतको उपस्थिती रहेको थियो ।