हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो
मकवानपुर । विगत चार महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ ।
हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका सम्पूर्ण मेसिन सञ्चालन गरी सिमेन्ट उत्पादन थालिएको हो । हेटौंडा–९ मा रहेको उद्योग सञ्चालनका लागि कोइला अभाव हुँदा गत मङ्सिरदेखि उत्पादन ठप्प भएको थियो ।
उद्योग सञ्चालनका लागि आवश्यक कोइला खरिद गर्न समस्या भएपछि उत्पादन ठप्प भएको महाप्रवन्धक पाण्डेले बताए । कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न नसकिएको उनले बताए ।
केही दिन अघिमात्र उद्योगले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएको र सो कोइलाको प्रयोग गरी उद्योग सञ्चालन गरिएको महाप्रवन्धक पाण्डेको भनाइ छ ।
२०४२ मङ्सिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको हेटौंडा सिमेन्ट उद्योग १२० बिघा क्षेत्रमा फैलिएको छ । उद्योगको कच्चा पदार्थका लागि मकवानपुरको ओखरे, भैंसे, मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी सञ्चालनमा छ । खानी क्षेत्रमा समेत गरी उद्योगको स्वामित्वमा ३ सय ३८ बिघा जग्गा छ ।