चोरीका मोटरसाइकल ताप्लेजुङमा सरर, ढुवानीकर्ता पक्राउ परेपछि खुल्यो पोल
बिर्तामोड । झापाका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकल ताप्लेजुङ लगेर चलाउने गरेको पाइएको छ । प्रहरीले ढुवानीकर्ता पक्राउ गरेसँगै त्यस्तो रहस्य खुलेको हो ।
प्रहरीले क्लिाजुङ ६, मोरङ घर भई बिर्तामोड ६ बुट्टाबारी बस्ने २७ बर्षीय योगेश भनिने बालकुमार मगरलाई पक्राउ गरेसँगै ठूलो संख्यामा ताप्लेजुङमा चोरीको मोटरसाइकल भएको तथ्य खुलेको हो । बिर्तामोडबाट चोरिएका मोटरसाइकल ताप्लेजुङसम्म ढुवानी गर्दै आएका मगरलाई प्रहरीले फागुन ३ गते हिलिहाङ ५ जोरपोखरीमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । चोरीको मोटरसाइकल काबेलीसम्म पुर्याउन जाने क्रममा मगर पक्राउ परेको प्रहरीले जनाएको छ । मगर पक्राउ परेसँगै प्रहरीले आठ वटा मोटरसाइकल ताप्लेजुङका विभिन्न स्थानबाट बरामद गरेको थियो । सो मध्ये सातवटा आफैले ढुवानी गरेको र सो बापत प्रति मोटरसाइकल १० हजार रुपैँया लिएको मगरले स्वीकारेको निमित्त सुचना अधिकारी गिरीले बताए । चोरीमा संलग्न मुख्य व्यक्तिहरु फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जेसीबीमा काम गर्दै आएका मगर जेसीबी बिग्रिएको परिवार पाल्न धौधौ परेपछि चोरीको मोटरसाइकल ढुवानी कार्यमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बरामद भएका मोटरसाइकल सम्बन्धित धनीले प्रमाणसहित फिर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा फिर्ताका लागि निवेदन दिन प्रहरीले अनुरोध गरेको छ । निवेदन प्राप्त भएसँगै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा उक्त फाइल लैजाने र न्यायाधिशले फिर्ताका लागि आदेश गरेसँगै सम्बन्धित धनीलाई मोटरसाइकल फिर्ता दिइने निमित्त सुचना अधिकारी गिरीले जानकारी दिए ।
बरामद अधिकांश मोटरसाइकल बजाज कम्पनीका पल्सर बाइक रहेका छन् । प्रहरी स्रोतका अनुसार ताप्लेजुङका ग्रामिण क्षेत्रमा मात्रै करिब ४ दर्जन चोरीका मोटरसाइकल रहेको प्रहरीले सुचना पाएको छ ।
तराईका जिल्लाहरुबाट चोरीएका मोटरसाइकल ग्रामिण पहाडी जिल्लाहरुमा सस्तो मुल्यमा बिक्री हुने गरेको छ । ट्राफिक प्रहरीको अनुपस्थितीको फाइदा उठाउँदै ग्रामिण इलाकामा त्यस्ता बाइकहरु कुदाउने गरिएको स्रोतले बताएको छ ।
झापाका धेरैजसो चोकबजार र सडकमा सीसी क्यामेरा राखिएको भएतापनि फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै दैनिक जसो चोरीका घटना हुने गरेका छन् । गत आवमा १६६ वटा चोरीका घटनामा मुद्धा दर्ता भएको थियो भने प्रहरीले २२७ जनालाई पक्राउ गरेको थियो । चालु आवको माघ मसान्तसम्ममा ८४ वटा चोरीसम्बन्धि मद्धा दर्ता भएको र १३१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।