झापा गोल्ड कप : एपीएफ सेमिफाइनल प्रवेश
बिर्तामोड । अर्ना छैटौँ झापा गोल्डकपको आज सम्पन्न खेलबाट विभागीय टीम एपीएफ सेमिफाइनल प्रवेश गरेको छ । एपीएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।
एपीएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपीएफले अर्को क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । एपीएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।
खेलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।
खेलको प्लेयर अफ द म्याच एपीएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।
मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाण्डौ र चर्च ब्वाइज युनाइटेड काठमाण्डौ बीच हुनेछ ।