एन्फा मकवानपुर विरुद्ध झापा–११को गोल बर्षा
बिर्तामोड । बिर्तामोडमा जारी अर्ना छैठौँ झापा गोल्डकपमा आयोजक झापा–११ सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार भएको खेलमा झापा–११ ल एन्फा मकवानपुरलाई ५–१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
खेलमा झापाका लागि आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन, प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागाईंले गोल गरेका थिए ।
खेलको २४औं मिनेटमा आदित्य शाक्यले झापा–११ का लागि पहिलो गोल गरे । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको झापा–११ ले खेलको ६६औं मिनेटमा अग्रतालाई दोब्बर बनायो । डिबक्समा समिराज थोकरको पासमा हेरिसनले उत्कृष्ट फिनिसिङ गरे । खेलको ८३औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले तेस्रो गोल गरे । बेञ्चबाट मैदान छिरेको एक मिनेट पनि नहुँदै उनले गोल गरेका थिए । विपक्षी गोलरक्षक गोपी वर्तौला अनावश्यक बिट हुँदा उनले गोल गरेका हुन् । यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले चौथो गोल गरे । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले पाँचौं गोल गरे । खेलमा मकवानपुरले सान्त्वना गोल फर्कायो । खेलको ७९औं मिनेटमा मकवानपुरका ओस्कारले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच समिराज थोकर हुँदै नगद ११ हजार प्राप्त गरे ।
जितसँगै झापा–११ले फाइनल प्रवेशका लागि शनिबार चर्चब्वाइजसँग खेल्नेछ ।