हत्या भएको अवस्थामा महिलाको शव फेला, चार जना पक्राउ
बिर्तामोड । सिराहाको गोलबजारमा एक महिलाको शव फेला परेको छ । गएराति आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा करिब ३५ वर्षीया अनिता कुमारी साहको शव फेला परेको हो ।
महेन्द्र कुमार साहकी श्रीमती अनिता कुमारीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका साह दम्पती मात्र घरमा रहेको बेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाटनजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्न रहेको आशंकामा श्रीमानसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि लहान पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।