२०८३ बैशाख ५ गते , शनिबार

स्वास्थ्य बीमाका बिरामीले सरकारीबाहेकका अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम तिर्नुपर्ने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २९ गते , मंगलबार
स्वास्थ्य बीमाका बिरामीले सरकारीबाहेकका अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम तिर्नुपर्ने

झापा । स्वास्थ्य बीमा लागू भएका निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउँदा बिमितले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमाको सदस्यता लिएका व्यक्तिले बिमामार्फत उपचार गराउँदा उपचार खर्चको २० प्रतिशत आफैँले तिर्नुपर्ने भएको हो ।

स्वास्थ्य बीमा बोर्डको गत २४ फागुनमा बसेको बैठकले निजी तथा सामुदायिक अस्पतालहरूमा २० प्रतिशत सहभुक्तानीको नियम लागू गर्ने निर्णय गरेको हो। सरकारी अस्पतालहरूमा भने यसअघिकै निर्णयअनुसार १० प्रतिशत सहभुक्तानी लागू भइरहेको छ ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरूमा २० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको हो ।

उनले भने, ‘गत माघ १ देखि स्वास्थ्य बिमामा संलग्न सबै स्वास्थ्य संस्थामा उपचार गराउँदा बिमितले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने  व्यवस्था लागू गरेका थियौँ । निजी तथा सामुदायिक अस्पतालहरूमा सेवा थप व्यवस्थित बनाउन २० प्रतिशत सहभुक्तानी प्रणालीको तयारी थालेका छौँ ।

निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी प्रणाली आगामी वैशाखदेखि लागू गरिने तयारी थालिएको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार