२०८३ आश्विन १७ गते , शनिबार

इलाम–२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ५ गते , सोमबार
इलाम–२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस

इलाम । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमाले इलामले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।

केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीले सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलालको नाम सिफारिस गरेको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए । शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् ।

आइतबार पनि सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव गुरुङले जानकारी दिए । जिल्ला कमिटीको बैठकमा मतदानबाट उम्मेदवार चयन गर्ने छलफल भए पनि पार्टीमा योगदान दिएका नेता निरुत्साहित हुन सक्ने भएकाले सबैको नाम केन्द्रमा पठाइएको उनको भनाइ छ । गुरुङले भने ‘समयको माग र कमरेडहरूको योगदानका आधारमा जिल्ला कमिटीले कसैको नाम काँटछाँट नगरेको हो ।’

सम्बन्धित समाचार