अर्जुनधाराका स्वास्थ्यकर्मीलाई वृहत पोषण प्याकेज सम्बन्धी तालिम
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । चैत्र १९ गतेदेखि शुरु भएको वृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको हो ।
स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरी जनस्तरमा गुणस्तरीय सेवा पुर्याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख खड्गमाया पराजुलीले पोषण गर्भावस्थादेखि श्वास रहुञ्जेलसम्म आवश्यक भएको बताइन् । मानिसका लागि अति आवश्यक पोषणको कमी भए मानिसको स्वास्थ्य अवस्था खस्कने र सिंगो मुलुकको विकासमा नै असर पर्ने बताइन । उनले तालिमले स्वास्थ्यकर्मीहरुले केहि नयाँ सिक्ने कुरामा सहयोग पुगेको र भोलि बिरामीको सेवा गर्ने कुुरामा सहज हुने अपेक्षा लिएको बताइन् । उनले गाउँ गाउँमा पोषणको बारेमा सचेतना जगाउन सहभागीहरुलाई आग्रह गरिन् ।
कार्यक्रमका अध्यक्ष रहेका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले गर्भवती आमालाई पोषणको कमी भयो भने कुपोषित बच्चा जन्मने र राज्यले लिएको लक्ष्य पुरा नहुने बताए । स्वास्थ्यकर्मीहरु सुचना र सेवा सम्प्रेषणको सम्बाहक रहेको भन्दै इमान्दारितापूर्वक कार्यक्षेत्रमा काम गर्न आग्रह गरे । ‘हरेक बार खाना चार’ भन्ने भनाईलाई दैनिक व्यवहारमा उतार्न स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उनको भनाई थियो । प्रकृतिले मानिसलाई बरदान दिएको भन्दै प्राकृतिक खानेकुरामा जोड दिनुपर्ने उनले सुझाए ।
कृष्ण काफ्ले, प्रीतम कुमार गुप्ता र लोकेन्द्र राईले तालिममा सहजीकरण गरेको शनिश्चरे अस्पताल नागरिक सहायता कक्ष प्रमुख शर्मिला घिमिरेले बताइन् । कार्यक्रममा स्वास्थ्य संस्थाहरुमा नमुना पोषण कर्नरको व्यवस्था हुनु पर्नेमा जोड दिइएको घिमिरेले बताइन् । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र चिल्लो पदार्थलाई सन्तुलित रुपमा खान स्वास्थ्यकर्मीले सिकाउनु पर्नेमा कार्यक्रममा जोड दिइएको थियो । सहभागीको तर्फबाट सुनिता आचार्यले तालिमबाट धेरै कुरा सिक्न पाएको बताइन् ।
घरआँगनमा फलेको फलफुल बिक्री गरेर मानिसहरुले अखाद्य खानेकुरा खानाले स्वास्थ्य समस्या हुने उनले धारणा राखिन् । आफु सुध्रिएमात्र समाज सुध्रने भन्दै आचार्यले नागरिक स्वस्थ्य हुने कुरा एकल प्रयत्नले मात्र नहुनेमा जोड दिइन् । सञ्चारकर्मी कुमार भट्टराईले सरोकार निकाय र सञ्चारमाध्यमको तालमेलबाट मात्र तल्लो स्तरसम्म स्वास्थ्यसम्बन्धि जनचेतना जगाउन सकिने धारणा राखे ।
अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले चैत्र १९ गतेदेखि आयोजना गरेको कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो । स्वास्थ्य शाखा प्रमुख चिमरियाले सञ्चालन गरेको समापन कार्यक्रममा सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।