२०८३ आश्विन १६ गते , शुक्रबार

ईपीएस परीक्षाको नतिजा सार्वजनिक, १५ प्रतिशतमात्र उत्तीर्ण

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २९ गते , विहीबार
ईपीएस परीक्षाको नतिजा सार्वजनिक, १५ प्रतिशतमात्र उत्तीर्ण

झापा । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । परीक्षामा सहभागी भएका मध्ये १५ प्रतिशतले मात्र परीक्षा उत्तीर्ण गरेका छन् ।

ईपीएस कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म एचआरडी कोरिया शाखाले  लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना पास भएका छन् ।  पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ । 

दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।  परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ । अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ ।

पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिने भनिएको थियो । तर, ४० हजार जना मात्रै परीक्षामा सहभागी भएका थिए । 

अब दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ । उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ । तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् ।

ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जान १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन् ।

त्यस्तै तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०२३ का लागि अनुमानित १५ हजार ४४८ जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान भन्दै दरखास्त आह्वान गरिएको थियो ।

सम्बन्धित समाचार