एसीसी प्रिमियर कप : आज नेपाल र कतारबिच खेल हुँदै
झापा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज कतारको सामना गर्दै छ । खेल नेपाली समयअनुसार, अपरान्ह ४:१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो ।
जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार नै खेलिएको अर्को खेलमा भने हङकङले कतारलाई २६ रनले हराएको थियो । समूह ‘ए’ मा दुई अंकसहित हङकङ पहिलो र समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा नेपालभन्दा हङकङ अगाडि छ ।
हालसम्म एक खेल पनि नखेलेको साउदी अरेबिया तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमै पराजित भएका मलेसिया र कतार क्रमशः चौथो र पाँचौँ स्थानमा आसिन छन् । शनिबारको दोस्रो खेल साउदी अरेबिया र मलेसियाबिच खेलिँदै छ ।
समूह ‘बी’ अन्तर्गतको खेलमा भने पहिलो दिन आयोजक ओमानले बहराइनमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । अर्को खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कुवेतलाई सात विकेटले हराएको थियो । समूह ‘बी’ मा शनिबार कम्बोडियाले कुवेत र बहराइनले यूएईको सामना गर्दै छन् ।
वैशाख ९ गतेसम्म चल्ने प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।