दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु
झापा । मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो ।
झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते थिए । उद्धार गरी सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो । त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो ।
घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ ।
प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
‘चार जनालाई नियन्त्रणमा लिएर भेरिफाइ गर्ने काम भइरहेको छ,’ एसपी कार्कीले भने ।