नेपाली पूँजी बजारका पाँच महंगा कम्पनी हेर्नुहोस
झापा । नेपालको शेयर बजार तीन वर्ष अगाडि ३२ सयको हाराहारीमा पुगेको थियो । त्यो अहिलेसम्मकै उच्च हो । तर, त्यसपछि विगत २ वर्षदेखि १८ सयदेखि २२ सयको बीचमा साइडवेज चलिरहेको छ ।
पुँजी बजारमा धेरै भार रहेको वाणिज्य बैंकको शेयरको मूल्य डेढ सयदेखि ५ सयमा चलिरहँदा पनि नेप्सेमा सूचीकृत कतिपय कम्पनीहरु भने १० हजार रुपैयाभन्दा माथिको मूल्यमा कारोबार भइरहेका छन् ।
नेप्सेको सोमबारको कारोबार अनुसार ५ वटा कम्पनीको शेयर मूल्य १० हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर मूल्य लाखौं पर्ने गरेको समाचार सुन्दै आएकोमा नेपालको पुँजी बजारमा समेत आधा दर्जन कम्पनीको मूल्य १० हजार रुपैयाँ भन्दा माथि छ भने अझ एउटा कम्पनीको मूल्य त झन्डै आधा लाख रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।
युनिलिभर नेपाल लिमिटेड (युएनएल)
नेपालको पुँजी बजारमा सबैभन्दा महंगो शेयर मूल्य युनिलिभर नेपाल लिमिटेडको रहेको छ । अल टाइम हाइ हुँदा ५० हजार रुपैयाँको हाराहारीमा कारोबार भएको यस कम्पनीको शेयर मूल्य सोमबार प्रति कित्ता ४५ हजार रुपैयाँमा कारोबार भयो । ९ करोड २० लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले हरेक वर्ष आकर्षक नगद लाभांश वितरण गर्दै आइरहेको छ । कोभिड भाइरसले अर्थतन्त्र तहनहस भएको भएको बेला समेत कम्पनीले शतप्रतिशत प्रति अर्थात १ सय रुपैयाँ नगद लाभांश दिएको थियो । कम्पनीले गत वर्ष प्रति कित्ता १५ सय ८० रुपैयाँ लाभांश दिएको थियो । हालैको साधारण सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरेर ३० करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले अधिकृत पुँजी वृद्धि गरेको समाचार बाहिरिएपछि कम्पनीको शेयर मूल्य तीन दिन लगातार सर्किट ब्रेक लागेर बढेको थियो । युनिलिभर नेपालको पुँजीबजारमा उच्च मूल्य भएको कम्पनीको रुपमा विगत लामो समयदेखि रहिरहेको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेड (बीएनएल)
कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य नेपालको पुँजी बजारमा दोस्रो धेरै शेयर मूल्य भएको कम्पनी हो । धेरै वर्षसम्म २ हजारको हाराहारीमा कारोबार भइरहको यो कम्पनीको मूल्य सन २०२३ को बीचबाट सन् २०२४ को मार्चसम्ममा हरेक दिन सर्किट ब्रेक लगाएर बढ्दै २२ हजारको हाराहारीमा कारोबार हुन थालेको हो । सोमबार कम्पनीको शेयर १६ हजार ३ सय ९९ रुपैयाँमा २ सय ५७ कित्ता शेयर कारोबार भयो । १ अर्ब ९४ करोड ८८ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको २५ प्रतिशत मात्रै पब्लिक शेयर रहेको छ । नेप्सेको तथ्यांक अनुसार ४ लाख ८७ हजार २ सय २१ कित्ता मात्रै साधारण शेयर रहेको हुँदा हरेक दिन एकदमै थोरै कित्ता शेयर मात्रै कारोबारमा आउने गरेको हुँदा पनि आपूर्ति कम हुँदा शेयर मूल्य बढ्न गएको हो । कम्पनी आधारभूत रुपमा पनि बलियो रहेको वित्तीय अवस्थाले पुष्टि गर्छ । बोटलर्सले प्रायः नगद लाभांश नै दिने गरेको छ । कम्पनीले लाभांश इतिहास पल्टाउँदा २० देखि ७० प्रतिशतसम्म नगद लाभांश दिएको देख्न सकिन्छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड (आरबीसीएल)
निर्जीवन बीमा कम्पनीको रुपमा राष्ट्रिय बीमा संस्थानबाट टुक्रिएको राष्ट्रिय बीमा कम्पनीको चुक्ता मूल्य २६ करोड ६६ लाख ३६ हजार ५ सय रुपैयाँ मात्रै रहेको छ । नेपाल बीमा प्राधिकरणको प्रावधान अनुसार कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्छ तर कम्पनीको रिजर्भमा पर्याप्त रकम रहेको हुँदा बोनस शेयर दिएर पुँजी बढाउने आशामा महंगो मूल्यमा यो कम्पनीको शेयर किन्न लगानीकर्ता तयार भएका हुन । कम्पनीको रिजर्भमा १६ अर्ब ७९ करोड ८५ लाख ५२ हजार रुपैयाँ रहेको छ । पछिल्लो पटक कम्पनीको शेयर मूल्य १३ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले आव २०६२/६३ मा ११८.२७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरेर कुल १ सय २४ दशमलब २७ प्रतिशत लाभांश प्रस्ताव गरेपछि अहिलेसम्म कुनै लाभांश दिएको छैन । रिजर्भबाट फेरि पनि बम्पर लाभांश दिने आशामा नै लगानीकर्ता यो कम्पनीको शेयरमा आकर्षित भएका हुन ।
बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटी)
पेय पदार्थ कोकाकोला नै उत्पादन गर्ने अर्को कम्पनी बोटलर्स नेपाल तराई (बीएनटी) पनि महंगो मूल्यमा शेयर कारोबार हुने कम्पनीमा पर्दछ । पछिल्लो पटक कम्पनीको शेयर १२ हजार ७ सय रुपैयाँमा कारोबार भयो । कम्पनीको चुक्ता पुँजी १ अर्ब २१ करोड रुपैयाँ मात्रै रहेको छ । कुल चुक्ता पुँजीको २५ प्रतिशत मात्रै पब्लिक शेयर रहेको छ ।
कम्पनीको ३० लाख २५ सय कित्ता मात्रै शेयर नियमित कारोबारको लागि उपलब्ध छ । कम्पनीले पनि हरेक वर्ष २२ देखि ८५ प्रतिशतसम्म नगद लाभांश दिएको इतिहास छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड (संस्थापक)
नेपालको शेयर बजारमा बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाको शेयर दुई समूहमा विभाजित भएर कारोबार हुने गरेको छ । संस्थापक समूहको शेयर मूल्य साधारण समूहको शेयर मूल्य भन्दा केही तल रहेर कारोबार हुने गरेको छ । न्यून चुक्ता पुँजी रहेको कारण संस्थापक समूहकै शेयर भए पनि राष्ट्रिय बीमा कम्पनीको शेयर १० हजार ३ सय ७९ रुपैयाँमा पछिल्लोपटक कारोबार भयो ।