अटिजम बच्चाको लागि विर्तामोडमा खुल्यो स्कुल
बिर्तामोड । अटिजम भएका बालबालिकाका लागि झापाको बिर्तामोडमा विद्यालय खुलेको छ । अटिजम भएका बच्चाहरुलाई अध्ययन अध्यापन गराउने उद्धेश्यले बिर्तामोड–४ एक किलोमिटर चोक पश्चिम वृद्धाश्रम नजिकै किण्डर बेल प्रि–स्कुल एण्ड चाइल्ड केयर सेन्टर सञ्चालनमा आएको हो ।
अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय नहुँदा अभिभावकहरुले हैरानी व्यहोर्दै आएका थिए । प्रत्येक नागरिकको शिक्षाको हकको सम्मान गर्दै अटिजम भएका बालबालिकाका लागि पूर्वाञ्चलमै पहिलो पटक विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयका सञ्चालक भिम बोहोराले जानकारी दिए । ‘नर्मल स्कुलले अटिजम बालबालिकालाई भर्ना नलिँदा अभिभावकहरु निराश हुनुहुन्थ्यो,’ उनले भने, ‘एकातिर अभिभावक निराश हुनुहुन्थ्यो भने अर्कोतिर अटिजम बच्चाले शिक्षा लिन पाउने हकबाट बञ्चित भइरहेका थिए ।’ अटिजम भएका बालबालिकाहरुलाई छुट्टै विधिबाट सिकाउनु पर्ने बोहोराको भनाई छ । ‘सामान्य बच्चा र अटिजम भएका बच्चालाई अध्यापन गराउने शैक्षिक विधि फरक हुन्छ,’ उनले भने, ‘उनीहरुलाई पढाईसँगै थेरापीपनि आवश्यक हुन्छ ।’
अटिजम भएका बच्चाहरुको आनीबानी सामान्य बच्चाभन्दा फरक हुने, अन्य बच्चाहरुसँग घुलमिल नहुने, अभिव्यक्ति दिन नसक्ने, असामान्य व्यवहार देखाउने भएकाले उनीहरुको भाषा बुझ्न कठिन हुनेहुँदा सामान्य विद्यालयले अटिजम बच्चाहरुलाई भर्ना लिन गाह्रो मान्ने गरेका छन् । अटिजम भएका बच्चालाई विद्यालयले भर्ना नलिँदा अभिभावकहरु तनावमा भएको बेला छुट्टै विद्यालय सञ्चालनमा आउँदा खुशी लागेको अटिजम अभिभावक मार्बिन देवानले बताए ।
अटिजम बच्चाहरुका लागि फरक शैक्षिक सामाग्री र तालिमप्राप्त शिक्षकहरुको आवश्यकता हुने र ती सबै व्यवस्था किण्डर बेलमा रहेको सञ्चालक बोहोराले जानकारी दिए । सानै उमेरमा अटिजम पहिचान गरेर त्यहि अनुरुपको थेरापी तथा शैक्षिक वातावरण तयार गर्न सके बालबालिकामा सुधार आउने विज्ञहरुको भनाई छ ।
किण्डर बेलमा ८ बर्षसम्मका बालबालिकाहरुलाई भर्ना लिइने बोहोराले जानकारी दिए । उनीहरुका लागि छुट्टै शिक्षण विधी, शैक्षिक सामाग्री, कक्षा कोठा तथा थेरापीको समेत व्यवस्था मिलाइएको उनले बताए । विद्यालयमा अटिजम साथै अन्य सामान्य बालबालिकाहरुलाई समेत अध्ययन गरिरहेको उनको भनाई छ । हाल विद्यालयमा १० जना अटिजम भएका बालबालिकाहरु अध्ययनरत रहेको उनले बताए । एक जना शिक्षकले अधिकतम ४ जनासम्म अटिजम भएका बच्चाहरुलाई पढाउन सकिने भएकाले विद्यालयमा सिमित कोटा रहेको उनको भनाई छ । किण्डरबेलले थेरापीमात्र गराउने बच्चाहरुलाई समेत सेवा दिइरहेको उनले जानकरी दिए ।
अटिजम रोग नभएर फरक मानसिक विकासको अवस्था भएको विज्ञहरु बताउँछन् । पछिल्लो समय प्रत्येक ३६ मा एक जना बच्चामा अटिजम हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । अटिजम भएका बच्चाहरुले उमेर अनुरुपको व्यवहार नगर्ने, बोल्न शुरु गर्ने समयमा बोली नआउने, आफुलाई आवश्यक भएको सामान बोलेर माग्नुको सट्टा हातले देखाउने, अन्य बच्चाहरुसँग घुलमिल नगर्ने, स्थिर भएर नबस्ने आदि लक्षण देखाउँछन् ।