उपभोक्ता जागरुक, बिक्रेता जिम्मेवार बन्नुपर्छ : अध्यक्ष मार्सेली
बिर्तामोड । उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली)ले उपभोक्ता जागरुक र बिक्रेता जिम्मेवार बन्नुपर्ने बताएका छन् । संस्थाको तेस्रो वार्षिक साधारण सभामा बोल्दै शनिबार मार्सेलीले त्यस्तो बताएका हुन् ।
शनिबार झापाको बिर्तामोडस्थित सीपी होटलमा आयोजित संस्थाको तेस्रो वार्षिक साधारण सभामा बोल्दै मार्सेलीले बिक्रेताले मूल्य र मान्यता अनुसार इमान्दार साथै
उपभोक्ता सचेत र विवेकशील बन्नु पर्ने धारणा व्यक्त गरे ।
उपभोक्ता जागरण अभियान नेपालले जागरुक उपभोक्ता, जिम्मेवार विक्रेता अभियान सञ्चालन गरिरहेको अध्यक्ष मार्सेलीले बताए ।
साधारण सभाका अध्यक्ष समेत रहेका उनले गुणस्तर, मूल्य र वस्तुमा उपभोक्ता ठगिन नहुने उनको भनाइ थियो ।
विद्यालय तहका विद्यार्थीमार्फत उपभोक्ता जागरण अभियान सञ्चालन गर्न सकिने उनले जानकारी दिए।
अध्यक्ष मार्सेलीले गाउँ तथा नगरका उपाध्यक्ष तथा उपप्रमुखहरूलाई अनुगमनको जिम्मेवारी ऐनमै तोकिएको भएपनि प्रभावकारी ढंगबाट अनुगमन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। उनले चाडबाडको समयमा मात्र नभएर नियमित रूपमा बजार अनुगमन गर्न आग्रह गरे।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले संघ तथा प्रदेश सरकारले स्पष्ट कानुन बनाइदिए बजार अनुगमनमा सहज हुने बताइन्। उनले योजना अनुगमन तीन पटकसम्म हुने भएपनि बजार अनुगमन कमै हुने गरेको स्वीकार गरिन् । उप्रेतीले बजार अनुगमनको क्रममा अनुगमनकर्ता समेत सचेत हुनुपर्ने बताइन् ।
चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीले
खुला बोर्डरका कारण उपभोक्ताहरू कम गुणस्तरीय उपभोग्य सामान खरिद गर्न बाध्य भएको बताए। उनले कतिपय व्यक्तिको व्यक्तिगत स्वार्थका कारण गुणस्तरहीन उत्पादन उपभोक्ताहरूले खरिद गरिरहेको उनको भनाइ छ।
विदेशमा बन्द भएका मसलाजन्य वस्तु यहां खुला बिक्री भई रहेको भन्दै अध्यक्ष बिमलीले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए। स्थानीय उत्पादन र उद्योगलाई प्राथमिकता नदिएसम्म उपभोक्ताहरू ठगिने क्रम जारी रहने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य कुबेर श्रेष्ठ अरुणले उत्पादक विक्रेता र उपभोक्ताबीच अन्योन्याश्रित सम्बन्ध हुने बताउँदै तीनवटै निकाय जिम्मेवार र इमान्दार बन्नुपर्ने बताए ।