२०८३ आश्विन १६ गते , शुक्रबार

कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेल सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २० गते , आईतबार
कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेल सार्वजनिक

धुलाबारी  । लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेलको लोकार्पण तथा कृतिमाथिको समूह छलफल (प्यानल डिस्कसन) शनिबार दमकमा गरिएको छ ।

कवि तथा स्थापित गजलकार केशव आचार्यले सो कृतिको विमोचन गरेका हुन् । पद्मजी पुरस्कार विजेता बरालको कृति नाति पुस्ताको खेलमा शक्तिशाली लेखन  बिम्ब र पाठकको मन खिच्ने ओझ भएको विश्वास लोकार्पण कार्यक्रमका वक्ताको छ ।

बराल आख्यान पछि पुनः निबन्ध लेखनमा आएका हुन् ।  निबन्धमा खेल्ने ठाउँ अधिक हुने भएकोले आफू फेरि त्यता मोडिएको उनले बताए । उनको लेखनीमा फिक्सन छ । नाति पुस्ताको खेलमा पनि लेखकले लीलालेखन प्रविधिको भरपुर प्रयोग गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, प्राज्ञद्वय मुनाराज शेर्मा र सुमित्रा आङ्देल,  डा. बालचन्द्र सुब्बा , प्रकाश बुढाथोकी, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिं गोम्देनले आआफ्नो धारणा राखेका थिए ।

प्रकाश थाम्सुहाङले सहजीकरण गरेको समूह छलफलमा २८ सालका लेखक  कुमार भट्टराई र मिश्र वैजयन्तीले कृतिको उत्खनन गरेका थिए । पात्र परिवर्तन हुँदैमा चरित्र परिवर्तन नहुने धारण राखेका लेखक भट्टराईले भने, ‘नाति पुस्ताको खेल विगत, वर्तमान र आगतको चित्र छर्लङ्ग पार्ने दर्बिलो कृति हो ।’

यसअघि बरालका तीन पिँढी एउटा सिँढी, लीलावार्ता र  शरणार्थी,  कथा च्यातिएका, अवतरण, अरामायण, समय हराएको बेला कृति प्रकाशित छन् । 

बरालको समय हराएको बेला पद्मश्री पुरस्कार पाएको कृति हो । अरामायण साहित्यकार बरालको बेनामे कृति हो । अरामायणको समीक्षा डा. शंकर उप्रेतीले गरेपछि मात्रै बरालको कृति भएको त्यसबेला खुलेको थियो ।

श्रष्टा प्रकाशनले बजारमा ल्याएको नाति पुस्ताको खेलमा तीन खण्ड छ । २५ वटा निबन्ध रहेको कृति दुई सय पृष्ठको छ ।  प्रकाशकका तर्फबाट अध्यक्ष सुन्दर कुरुप, यम थुलुङलगायतले बोलेका थिए ।

सम्बन्धित समाचार