रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
झापा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने हो,’ उनले भने । जोशीको बयान सकिएको उनले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाण्डौबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।
यसअघि कास्की प्रहरीको टोलीले काठमाण्डौ गएर लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । डीएसपी शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उनले जानकारी दिए ।
सूर्यदर्शन सहकारीको बचत हिनामिनामा शुक्रबार अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । कास्कीका जिल्ला न्यायाधीश कृष्णजंग शाहले पक्राउ अनुमति दिएपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी उपस्थित गराइदिन सीआईबी, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा काठमाण्डौलाई पत्र पठाएको थियो ।
पत्राचारपछि सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले वनस्थलीस्थित रास्वपा कार्यालयबाट लामिछानेलाई नियन्त्रणमा लिएर पोखरा ल्याएको हो । अदालतले दिएको पक्राउ पुर्जीमा लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ (३) अनुसार पक्राउ अनुमतिका लागि अनुरोध भई आएकाले त्यसमा अनुसन्धान गर्न मनासिब आधार र कारण देखिएको उल्लेख छ ।
पोखरा ल्याइर्पुयाएपछि लामिछानेलाई प्रहरीले सुरुमा रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य जाँच गराएपछि मात्रै कास्की प्रहरीको जिम्मा लगाएको थियो । लामिछानेलाई प्रहरीले सेतो स्कोर्पियो गाडीमा राखेर कडा सुरक्षाका बीच जिल्ला प्रहरी कार्यालयमा ल्याइर्पुयाएको थियो । रास्वपाका समर्थकहरूले ठाउँठाउँमा अवरोध गर्दै नाराबाजी गरेपछि कास्की प्रहरीले आफ्नो सीमानामा स्कर्टिङका लागि सुरक्षाकर्मीसहित गाडी पठाएको थियो ।
लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहरा र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैंले चेक काटेर खर्च गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।
सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गत जेठ १५ मा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष राई, पूर्वप्रबन्ध निर्देशक लामिछाने, सञ्चालक जोशी र कुमार रम्तेलमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिले उनीहरूविरुद्ध संगठित अपराध, ठगी, किर्ते र सम्पत्र् िशुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने भन्दै प्रचलित कानुनअनुसार कारबाही गर्न बाटो खोलिदिएको थियो ।