२०८३ बैशाख ५ गते , शनिबार

राजनीतिमा नैतिकताको खडेरी भएको बताउने पूर्वमन्त्री अधिकारी हिरासतमा

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २५ गते , आईतबार
राजनीतिमा नैतिकताको खडेरी भएको बताउने पूर्वमन्त्री अधिकारी हिरासतमा

बिर्तामोड । मानव तस्करीमा नाम मुछिएपछि नैतिकताको खडेरी लागेको भन्दै राजीनामा दिएका कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले हिरासतमा लिएको छ । आइतबार विराटनगरस्थित निवासबाट पक्राउ परेका अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट दुई दिनको म्याद लिएको हो ।
कार्तिक १३ गते ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’मा सहभागी हुन भन्दै उडेका अधिकारीसहितको टोलीलाई जापानको टोकियोस्थित विमानस्थलबाट अध्यागमन कार्यालयले कागजात शंकास्पद देखिएको भन्दै डिपोट गरेको थियो ।
मानव तस्करी जस्तो गम्भीर विषयमा नाम जोडिएका अधिकारीमाथि अनुसन्धान गर्न नेकपा माओवादी केन्द्रले माग गरेको थियो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले प्रदेशका मन्त्रीहरू राजधानी बाहिर जाँदा समेत मुख्यमन्त्रीको अनुमति लिनुपर्ने आचारसंहिता विपरीत मन्त्री विदेश जाँदा समेत सरकारलाई थाहा नहुनुले प्रदेशकै शिर निहुरिएको भन्दै सो घटनाको छानबिन गर्न माग गरेकी थिइन् । 
मानव ओसारपसार तथा किर्ते कागजातमा नाम मुछिएपछि अधिकारीले कार्तिक २१ गते पदबाट राजीनामा दिएका थिए ।
सो कार्यक्रममा जान मोरङको रतुवामाई नगरपालिका घर भइ काठमाण्डौ बस्दै आएका गोपाल गौतमले चाँजोपाजो मिलाएको अधिकारले बताएका छन्। । एमालेका कार्यकर्ता गौतम एमाले संसदीय दलको कार्यालय वरपर भेटिन्छन् । उनी ठेकेदार हुन् ।
त्रिभुवन विमानस्थलबाट एक्लै उडेका अधिकारीलाई हङकङको ट्रान्जिटमा सोही भ्रमण दलको सदस्य भन्दै खोटाङको ऐसेलुखर्क गाउँपालिका-२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका-४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका-५ का २२ वर्षीय कञ्चन देवकोटा भेट्न आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक्लै उडेका अधिकारी हङकङमा तीनजना व्यक्तिहरू पनि सो कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै भेट्न आएपछि आफू झस्किएको बताउँछन्।
उनीहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको छ।  पक्राउ परेकाहरूको साथबाट प्रहरीले मन्त्रालयको कर्मचारीको नक्कली परिचयपत्र समेत बरामद गरेको छ। मन्त्रीको हस्ताक्षर भएको परिचय पत्रमा उनीहरुमध्ये कसैलाई मन्त्रालयको सहायक, कसैलाई अन्य विभिन्न भूमिकामा रहेको उल्लेख गरिएको थियो ।
सो प्रकरणमा अधिकारीसहित प्रहरीले सात जनालाई पक्राउ गरेको जनाएको छ।
पार्टीले अधिकारीलाई यसअघि नै संगठित सदस्यबाट निलम्बन गरिसकेको छ।

सम्बन्धित समाचार