गौहत्यामा संलग्न आलम पक्राउ, हत्याको विरोधमा प्रदर्शन र चक्काजाम
बिर्तामोड । झापाको कनकाई नगरपालिका–३ स्थित टप्पुमा गरिएको गौहत्यामा संलग्नलाई कारबाहिको माग गर्दै कोटीहोम क्षेत्रमा प्रदर्शन र चक्का जाम गरिएको छ । मृत गाईलाई साँझ ५:२० बजे घटनास्थलबाट गाडीमा राखेर सुरुङ्गा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा ल्याई प्रदर्शनकारीले चक्काजाम गरेका थिए ।
घटनाको विरोधमा आज दिउँसो ४:२० बजेदेखि लीला सङ्ग्रौलाको घर अगाडी गौ वंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सताक्षीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वरधामबाट आएका ३०/३५ जना धर्मगुरु र स्थानीयसहित करिब २५० जनाको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीले चक्काजाम साथै नाराबाजी गरेका हुन् । उनीहरुले ‘गौ हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद, हत्यारालाई कारबाही गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले कैयान राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेका थिए ।
आज विहान कनकाई–३ स्थित टप्पु निवासी पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेका थिए । स्थानीय लीला सङ्ग्रौलाको घरमा डेरा गरी ज्याला मजदुरी गर्ने मुस्लिम समुदायका मानिसहरूले सो गाई चोरी गरी काटेका थिए । गाईधनी सिलवालले दूध दुहुन जाँदा गाई नदेखेपछि चोरी भएको भनी इलाका प्रहरी कार्यालय, सुरुङ्गामा जानकारी गराएका थिए ।
दिउँसो १ बजेतिर हराएको गाई सङ्ग्रौलाको घरभित्र काटिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
यसैबीच प्रहरीले घटनामा संलग्न भएको आरोपमा बाह्रदशी–४ ठेगाना भएका ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरेको जनाएको छ । मुख्य आरोपी आलमसहित केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका अन्यको बारेमा खुलाइएको छैन ।