पत्रकारितामा एआईको प्रयोग अपरिहार्य
बिर्तामोड । प्रविधिको विकाससँगै कृतिम बौद्धिकता (एआई)को प्रयोग पत्रकारितामा अपरिहार्य भएको बताइएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘पत्रकारिता क्षेत्रमा कृतिम बौद्धिकताको प्रयोग सम्बन्धि तालिम’का सहजकर्ताहरुले त्यस्तो धारणा राखेका हुन् ।
अर्जुनधारा नगरपालिका ११ स्थित पाथिभरा इञ्जिनियरिङ कलेजको कम्युटर इञ्जिनियरिङ विभागले आयोजना गरेको उक्त तालिममा पत्रकारिता क्षेत्रमा एआईको प्रयोग कसरी गर्न सकिन्छ, यसका अवसर र चुनौतीको बिषयमा जानकारी दिइएको थियो ।
कलेजका उपप्राध्यापक सितलप्रसाद मण्डल, कम्युटर इञ्जिनियरिङ विभाग प्रमुख रोशन भट्टराई र विवश गौतमले तालिमको सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देनले पत्रकारहरु प्रविधिमैत्री हुन आवश्यक रहेको बताउँदै तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले पाथिभरा इञ्जिनियरिङ कलेजलाई नगरले अपनत्व लिने र यसको वृद्धिविकासमा भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कलेजका प्रमुख कार्यकारी अधिकृत अनुज पराजुलीले कलेजमा अध्यापन हुने बिषय र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागीहरुको तर्फबाट सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलाले कार्यक्रम जीवनोपयोगी भएको बताए । समाचार लेखन तथा सम्पादनलाई एआईको प्रयोगले सहज र छिटो बनाउने उनले बताए । महत्वपूर्ण तालिम आयोजना गरेकोमा आयोजकलाई उनले धन्यवाद दिए ।
कलेजका अध्यक्ष युवराज प्रसाईले मेची अञ्चलकै पहिलो इञ्जिनियरिङ कलेज भएपनि विद्यार्थीको संख्या उल्लेख्य हुन नसकेको गुनासो गरे । महंगो शुल्क तिरेर भारतलगायतका मुलुकमा पढ्नु भन्दा त्यहि गुणस्तर सस्तो मुल्यमा आफ्नै घरआँगनमा दिने उद्धेश्यले कलेज स्थापना गरिएको बताए ।