पूर्व मेयर बलात्कार प्रकरण : चरम हिंसा भोगेकी बालिका भागेपछि खुल्यो पोल
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनकै घरमा आश्रित एक बालिका भागेर भारत जान लागेको अवस्थामा भेटिएपछि उनको पोल खुलेको हो ।
लामो समयदेखि शिवाकोटीको घरमा आश्रित बालिका सोमबार एकाएक भारततर्फ भाग्न लागेको आफन्तले थाहा पाएपछि आफन्त र सामाजिक संस्थाका प्रतिनिधीले मेचीनगरस्थित सीमानाकाबाट उद्धार गरेका हुन् । स्कुलको पोशाकमै हिँडेकी बालिका भाग्नुको कारण थाहा पाएपछि घटनाको बारेमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराइएको आफन्तले बताएका छन् । शिवाकोटीले बालिकामाथि गरेको चरम दुर्व्यवहारका कारण यहाँ बस्न नसकेर आसाममा रहेकी आमा भेट्न बालिका जान लागेको थाहा पाएको प्रहरीले बालिकालाई लिन आएका शिवाकोटीलाई पक्राउ गर्यो । शिवाकोटी बिर्तामोड निवासी भएकाले आफ्नो कार्यक्षेत्र नभएको भन्दै काँकरभिट्टा प्रहरीले शिवाकोटीलाई इप्रका अनारमनीको जिम्मा लगाएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
पीडितको तर्फबाट जाहेरी परेकाले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको र भोलि म्याद थपका लागि अदालतमा उपस्थित गराइने इप्रका अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
के हो घटना ?
पीडित बालिकाको बाबुको मृत्यु भइसकेको छ भने आमाले पनि दोस्रो विवाह गरिसकेकी छन् । उनी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिईन । शिवाकोटीले उनलाई पढाइदिने भन्दै बिर्तामोड–५ स्थित आफ्नो घरमा राखेका थिए । दोस्रो बिवाह गरेर पीडितकी आमा भारतको आसाममा बस्दै आएकी छन् ।
स्थानीय एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक पटक करणी गरेको बताईएको छ । शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् । काँकडभिट्टास्थित सीमा नाकामा शंकास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यहि घरमा जानुपर्छ भनेर अत्तालिए पछि उनलाई फकाएर सोधखोज गर्दा शिवाकोटीको कर्तुतका बारेमा बताएकी थिइन् । प्रहरीका अनुसार सोधपुछका क्रममा पूर्व मेयर शिवाकोटीले जवरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिईन । त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटी हाल ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन् ।
उनलाई अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।