फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा
झापा । पाँचथरको फिदिममा आयोजित ११औं फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाईज फुटबल क्लबले आफ्नो पोल्टामा पारेको हो । एक हप्ता अगाडी मात्र झापा ११ कपको उपाधिसमेत चर्च ब्वाइजले जितेको थियो ।
सोमबार फिदिम माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा चर्च ब्वाईजले मछिन्द्र फुटबल क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीले २–२ गोल गर्दै खेललाई बराबरीमा र्पुयाएका थिए । खेलको पहिलो हाफको अन्त्यतिर (४५औं मिनेटमा) मछिन्द्रका बिजु भुजेलले टिमको लागि पहिलो गोल गरेका थिए ।
त्यसपछि ७८औं मिनेटमा चर्च ब्वाईजका छिरिङ लामाले जवाफी गोल फर्काए । मछिन्द्रका शनिस श्रेष्ठले थप एक गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए पनि अन्तिम समयमा चर्च ब्वाईजका समिर तामाङले बराबरी गोल गर्दै खेललाई ट्राईब्रेकरमा धकेले ।
ट्राईब्रेकरमा मछिन्द्रका दयानन्द एलनबमले पेनाल्टी चुकाउँदा मछिन्द्रले पराजय भोग्यो । मछिन्द्रका देवेंद्र तामाङ, शनिस श्रेष्ठ, सौरभ सुब्बा, र समीराज थोकरले पेनाल्टीमा गोल गरे भने चर्च ब्वाईजका सुजन डंगोल, छिरिङ लामा, फाकुन्ले अबियुमी, रोहन कार्की, र एकराज बुढाथोकीले सबै पेनाल्टीमा गोल गर्दै टिमलाई जिताए ।
च्याम्पियन बनेको चर्च ब्वाईजले १० लाख रुपैयाँ पुरस्कार जित्यो भने उपविजेता मछिन्द्र फुटबल क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो ।