झापा कप २०८१ को आयव्यय सार्वजनिक, २८ लाख मौज्दात
बिर्तामोड । गत मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित झापा कप २०८१ को आयव्यय सार्वजनिक गरिएको छ । शनिबार बिर्तामोडको होटल सिद्धार्थमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले हिसाबकिताब सार्वजनिक गरेको हो ।
प्रतियोगिताका लागि विभिन्न दाता तथा टिकट बिक्रीबाट १ करोड दुई लाख १२ हजार ४०४ रुपैया संकलन भएको आयोजक संस्था झापा ११ फुटबल क्लबका सचिव चेतामणी खनालले जानकारी दिए ।
संकलित रकम मध्ये पुरस्कार, खेलमैदान तयारी, प्रचारप्रसार लगायत विभिन्न १४ वटा शिर्षकमा ७३ लाख ८१ हजार ५३१ रुपैया खर्च भएको र २८ लाख ३० हजार ८७३ रुपैया मौज्दात रहेको सचिव खनालले बताए ।
आयोजक संस्थाका अध्यक्ष जलकुमार गुरुङले खेल क्षेत्रको विकासमा स्थानीय सरकार सकारात्मक र क्रियाशील बन्नु पर्ने बताए । खेलप्रेमीहरुको स्वतस्फूर्त सहयोगमा स्थानीय ठाउँको चौतर्फी चर्चा हुनेगरी खेल आयोजना गर्दापनि पालिकाले गर्ने सहयोगमा ढिलासुस्ती गर्ने गरेको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले खेल सम्पन्न गर्न सहयोग गर्ने चन्दादाता, सञ्चारकर्मीलगायत सम्पूर्णलाई धन्यवाद दिँदै भविष्यमा अर्को संस्करणको खेल आयोजना गरिने बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज (प्रशान्त) भण्डारीले खेल सकिएको लामो समयसम्म आयव्यय सार्वजनिक नगर्दा आयोजकहरु आलोचित भइरहेको बेला झापा ११ ले तत्काल हिसाब सार्वजनिक गरेर पारदर्शिता देखाएको भन्दै प्रशंसा गरे ।
झापा कप २०८१ का खेल संयोजक केशबराज दाहालले यो संस्करणमा नेपाल तथा भारतको गरी दश टीम सहभागी भएको र खेल उत्कृष्ट भएको धारणा राखे।