झापा गोल्डकपको नेतृत्वका लागि महिला उम्मेदवार शुन्य
बिर्तामोड । झापा गोल्डकपको आगामी नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ । आइतबारबाट प्रारम्भ भएको निर्वाचन तालिका अनुसार सोमबार भएको उम्मेदवार मनोनयनमा महिला उम्मेदवारको संख्या भने शुन्य रहेको छ ।
१४ जनाको कार्यसमितिका लागि २६ जनाले मनोनयन दर्ता गराएपनि कुनै पदमा महिला उम्मेदवारले मनोनयन दर्ता गराएनन् । ५७८ जना साधारण सदस्य रहेको झापा गोल्डकपमा थुप्रै महिला सदस्य भएपनि नेतृत्व चयन प्रक्रियामा उनीहरुले अनिच्छा देखाएका हुन् । नेपालको संविधान २०७२ ले राज्यका हरेक निकाय तथा संघसंस्थामा महिला सहभागिता सुनिश्चित गरेको भएपनि झापा गोल्डकपमा भने त्यो व्यवस्था गरिएको छैन । नेपालको संविधान २०७२ जारी भएको २ बर्षपछि झापा गोल्डकप जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपनि महिलाको सहभागिता उल्लेख गरिएको छैन ।
झापा गोल्डकपको विधानमा कार्यसमितिमा महिला अनिवार्य नभएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । ‘विधानमा महिला अनिवार्य भन्ने व्यवस्था छैन, सुधार गर्दै लैजानु पर्ने छ,’ उनले भने,‘समितिमा मनोनयन गरेर ल्याउने गरेका छौँ ।’
कार्य समितिले महिला सदस्यहरुसँग सहकार्य गरेर मनोनयन गर्ने बिषयमा खासै चासो नदिने गरेको झापा गोल्डकपकी सदस्य तिलोत्तमा खत्री बताउँछिन् ।
निर्वाचन तालिका अनुसार आगामी माघ २ गतेका लागि निर्वाचन मिति तोकिएको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकि पदका लागि निर्वाचन हुनेछ ।