बिर्तामोड नगर अस्पताललाई दातृ निकायको सहयोग
बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजार मूल्य बराबरको अस्पतालजन्य बिर्तामोड नगर अस्पताललाई १३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री हस्तान्तरण गरिएको हो । हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग तथा वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा प्राप्त ती सामग्रीहरु बुधवार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ । ती सामाग्री सभामुख देवराज घिमिरेको पहलमा हस्तान्तरण गरिएको हो ।
बिर्तामोड नगर अस्पताललाई सामग्री हस्तान्तरण गर्दै सभामुख घिमिरेले बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा हबको रुपमा विकास भइरहेको बताए । ठुला निजी अस्पतालसँग प्रतिष्पर्धा गर्दै सहुलियतरुपमा नगर अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा धन्यवाद दिए । स्थापनादेखि नै स्वास्थ्य उपचार सेवामा नगर अस्पतालले दिइरहेको सेवाप्रति खुशी व्यक्त गर्दै सभामुख घिमिरेले भने ‘सुलभ रुपमा उपचार सेवा प्रदान गर्दै यहाँका निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विश्वास गरेको छु ।’ सरकारी स्वास्थ्य संस्थामा नगर अस्पतालले अब्बल संस्थाको रुपमा स्थापित हुनुपर्ने उनको धारणा थियो ।
उपचार सेवालाई प्रभावकारी बनाउँदै लैजान आग्रह गर्दै सभामुख घिमिरेले अस्पताल स्थापित गर्ने मुख्य दायित्व नगरपालिकाको भएको बताए ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विगतको तुलनामा स्वास्थ्य संस्थाले उल्लेख्य प्रगति हासिल गरेको बताइन् । नगर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने दातृ संस्थाहरुलाई धन्यवाद दिदैं उनले स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
नगर अस्पतालबाट चौबीसै घण्टा सेवा दिनका लागि आतुर रहेको बताउँदै उनले १२ घण्टे सेवा माघ २ गतेबाट सुरु भइसकेको जानकारी गराइन् । अस्पतालमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि सेवा सुरु भइसकेको छ ।